पूर्वराजालाई प्रधानमन्त्रीको जवाफ: दरबार हत्याकाण्ड घटाउनेले अर्ती नदेउ
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ब्यक्त गरेको सन्देशप्रति कडा टिप्पणी गरेका छन् । उनले शाहका पछिल्ला ब्यबहार र अभिव्यक्तिप्रति ठिक नभएको बताएका छन् ।
चौथो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिन बनाउनेले हामीलाई अर्ति दिनु हास्यास्पद भएको समेत बताए ।
ओलीले पूर्वराजा शाहको नाम नलिइकनै अर्ति, उपदेश नदिन र फेरी स्थापित भइन्छकि भनेर कुदृष्टि नराख्न पनि सुझाव दिए ।
कार्यक्रममा ओलीले भने, “केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी ? “भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुनिन्छ। यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचको प्रकट हो।”
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले भविष्यका सपना बाँडेर मात्र समय खेर नफाल्न दलहरूलाई आग्रह गरेका थिए। उनले प्रजातन्त्र कर्ममा उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने टिप्पणी गरेका थिए।
शाहले विदेश भ्रमणमा जाँदा नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन नसकिरहेको भन्ने सुन्ने गरेको बताउँदै दलहरूको आलोचना गरेका थिए।
प्रधानमन्त्री ओलीले शाहको यही भनाइलाई लक्षित गर्दै ‘धेरै नबोल्न’ आग्रह गरेका हुन्। पूर्वजहरूको पौरख र उलपब्धिलाई सधैँ सम्मान गर्ने तर, विगतका नकारात्मक पक्ष पनि आफूले नबिर्सिको बताए।
“दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकट भएका काला दिनहरू पनि सम्झिरहेका छौं। कसैले हाम्रो स्मरण शक्ति कमजोर छ कि भनेर नसोच्दा हुन्छ”, प्रधानमन्त्री ओलीले भने।
यस्तै, प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरूमा सरकार बनाउने र परिवर्तन गर्ने विषय छापिन शुरू भएको आरोप पनि लगाएका छन्। जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल र षडयन्त्रबाट फेर्ने कुरा दिनदिनै अखबारहरूमा छापिने गरेको उनको आरोप छ।
“जनताको अभिमतबाट होइन, जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनैपिच्छे अखबारहरूमा छापिए। अस्तिका दिन मैले हेर्या थेँ, तीन दिन अगाडि जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुशीयाली मनाइराख्या”, प्रधानमन्त्री ओलीले भने ।
ओलीले थपे, “अस्थिरता ल्याउन पाइन्छ भनेर खुशीयाली मनाइराख्या, अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुशीयाली मनाइराख्या, जनतमतको कुरा होइन जालझेलको, टिक्डमको बाटो हिंड्न पाइन्छ भनेर खुशीयाली मनाइराख्या, लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली होइन। लोकतन्त्र जनताको अभिमतको प्रकटको प्रणाली हो।”
प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारलाई सुदृढ र विस्तृत गर्दै सफलतापूर्वक कार्यान्वयनको काममा सरकार अघि बढेको बताए।
सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यही बाटोबाट सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडी बढाउने प्रधानमन्त्रीको भनाइ छ।