प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर गोकुलधाम जान सुझाव
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले देशलाई भ्रष्टाचारको आहालमा डुबाएको अरोप लगाए।
‘सरकारका तत्कालीन प्रवक्ता गोकुल बाँस्कोटाले ७० करोड मागेको अडियो संवाद आइसकेपछि प्रधानमन्त्रीले प्रतिरक्षा गर्न यो अडियो डुब्लिकेट हो, क्यारिकेचर गरेर बनाइएको हो। यो प्रमाणित हुन सक्दैन भन्नुभयो। अख्तियार, न्यायालय अनुसन्धान गर्ने निकायलाई औंलो ठड्याएर भनेको कुराले उहाँ संवैधानिक अंग, लोकतान्त्रिक प्रक्रियामा प्रतिवद्ध नभएको देखिएको छ,’ उनले भने, ‘देश अहिले कोरोना भाइरसभन्दा भ्रष्टाचारको भाइरसबाट ग्रसित छ।’
उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने बताए पनि भ्रष्टाचार गर्ने प्रिय पात्रलाई भने आफ्नो निवासमा राखेको भन्दै आपत्ति जनाए। उनले सरकारले राजस्व उठाउन नसकेका कारण इन्धनमा कर थप्ने निर्णय गरेको भन्दै आपत्ति जनाए।
‘सरकारले राजश्व उठाउन सकेन। जनताको पक्षमा काम गर्न सकेन। आज नेपाली जनताले प्रतिलिटर पेट्रोलमा ४४ रुपैयाँ, डिजेलमा २७ र हवाइ इन्धनमा २४ रुपैयाँ कर बुझाउनु परेको छ,’ उनले भने, ‘त्यो के–का लागि भन्दा भ्रष्टाचारका लागि। पूँजीगत बजेटको एक चौथाइ सरकारले खर्च गर्न नसकेको छैन। तर, जनतालाई भने करको मार, त्यो पनि संसद छलेर?’
उनले प्रधानमन्त्री ओलीको कुर्सी भ्रष्टाचारको आहालमा डुबेको बताए। ‘जसरी प्रधानमन्त्री रोगको आहालमा हुनुहुन्छ त्यसरी नै भ्रष्टाचारको आहालमा हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले उहाँको कुर्सीमात्र देखिन्छ।’ सुनकाण्ड, वाइडबडी, न्यारोबडीमा भएको भ्रष्टाचारबारे नबोलेको भन्दै उनले प्रधानमन्त्री ओली बालुवाटारमा कुम्भकर्णको निद्रामा भएको टिप्पणी गरे।
उनले सरकार सुशासन कायम गर्न र मितव्ययी बनाउनतर्फ अग्रसर नभएकाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु पर्ने बताए।
‘प्रधानमन्त्रीज्यू सफल मिर्गौला प्रत्यारोपण गरेर बालुवाटारमा होइन, सुनपानी छर्किएर गोकुलधाममा सर्नुहोस्। नैतिकता बाँकी छ भने राजीनामा दिनुहोस्,’ उनले भने।