प्रचण्ड र नेपाललाई ओलीको काउन्टर: निरिह बनेर फर्किए
काठमाडौं- निकै गम्भीरताले हेरिएको बुधबारको नेकपा सचिवालय बैठक निकै रोचक बन्यो। बेलुका साढे ५ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको एउटा प्रस्तावले काउन्टर गर्न गएका नेकपाका नेताहरू रित्तै फर्किन बाध्य भए ।
लामो समय पार्टीभित्र किचलो भएपनि अध्यादेश प्रकरणले प्रधानमन्त्रीकै नैतिकतामा प्रश्न उठाएपछि ओलीको विकल्प खोज्न घनिभूत लागिरहेका प्रचण्ड-नेपाल समूह नै बैठकबाट रित्तै फर्किन बाध्य भए ।
सुरुवातमै आज आफू नबोल्ने भन्दै ओलीले प्रचण्डलाई कुरा राख्न लगाए, प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई भने, आज म बोल्दिनँ प्रचण्डजी बोल्नुस्’ बैठकको सुरुमै बोल्न सिफारिस गरेपछि प्रचण्डले असन्तुष्टि राख्न सुरू गरे ।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध मोर्चाबन्दी भएको थाहा पाएपछि चतुर्याइँ गर्दै प्रचण्डलाई लगाए ।ओलीको प्रस्तावअनुसार प्रचण्डले बैठकमा आफ्ना कुरा राख्न थाले ।
प्रचण्ड आक्रमक शैलीमा प्रस्तुत हुँदै ओलीको राजिनामा मागे , ‘केन्द्रीय कमिटीबाटै तपाईं पार्टी फुटाउन लाग्नुभयो । आफू पक्षीय भेला बोलाउने गर्नुभयो । यो तरिका ठिक भएन । तपाईं ली कुआन र महाथीर बन्छु भन्नुहुन्छ तर व्यवहार ठिक उल्टो भएकाले तपाई केही पनि बन्नुहुन्न’, ओलीलाई चुनौति दिँदै प्रचण्डले भने ‘अब राजीनामा दिएर पार्टी एकतालाई अक्षुण राख्नुस् ।’
त्यसपछि ओलीले प्रचण्डलाई जवाफ फर्काए, ‘अहिले म राजीनामा दिन्नँ । कोरोनाको समय छ । सकिएपछि बरु बामदेवजीलाई कतैबाट चुनाव गराउँला र प्रधानमनत्री बनाउँला । त्यतिभए उहाँको पनि इच्छा पूरा हुन्छ । माधवजीले पनि धेरै रहर गर्नुभा’छ उहाँलाई तेस्रो अध्यक्ष बनाउन पनि म नै पहल गर्छु, बन्नुपनि हुन्छ ।
ओलीले यसो भन्दा बैठकको माहोल बदलिसकेको थियो । ओलीबाट यस्तो प्रस्ताव आउला भन्ने कुनैपनि सदस्यले सोचेका थिएनन् । कतिले ओलीको यो प्रस्तावलाई व्यङ्ग्यका रुपमा पनि बुझे ।
ओलीको प्रस्ताव सुनेपछि वामदेव दंग परिसकेका थिए । त्यसपछि बोल्ने पालो आयो महासचिव विष्णु पौडेलको । पौडेलले प्रधानमन्त्री ओलीको प्रस्ताव राम्रो भन्दै यसैबाट निकास निस्कने धारणा राखे ।
तर पौडेल बोल्दाबोल्दै वरिष्ठ नेता झलनाथ खनाल कड्किए । ‘यसरी हुँदैन । स्थायी समिति बोलाउनै पर्छ । प्रधानमन्त्रीले राजीनामा दिनैपर्छ,’ झलनाथको चर्को स्वर सुनेपछि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले त्यसको प्रतिवाद गरे ।
‘अहिले प्रधानमन्त्रीको राजीनामा नमागौं । अरु विषयमा सहमति खोजौं’, प्रतिरक्षात्मक शैलीमा बादलको प्रस्तुति थियो ।
त्यसपछि बोल्ने पालो आयो उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेलको । पोखरेलले पनि प्रधानमन्त्री ओलीको प्रस्ताव धेरै राम्रो भन्दै समर्थन जनाए । पोखरेलपछि बोलेका माधव नेपालले पनि प्रचण्डको भनाइप्रति समर्थन जनाए । ‘यस्ता कुराले टुंगोमा पुग्न सकिँदैन । धेरै साथीहरुको स्थायी कमिटी बैठकको माग पनि छ । यो प्रक्रिया र विधिसम्मत पनि हुन्छ । सवै कुरा त्यहीँबाट टुंग्याउँ’, उनले भनेका थिए ।
जबकी प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नै आनाकानी गरिरहेका बेला प्रधानमन्त्रीको नै प्रस्ताव गर्न पुगेपछि एकछिन बैठकमा सन्नाटा नै छायो । एक सचिवालय सदस्य भन्छन्, ‘ओलीले ब्यङ्ग्य गरेका हुन् वा साँच्चै भनेका हुन् बुझ्न नै सकिएन ।’
यस्तै बैठकमा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले भने पार्टी एकतालाई मजबुत बनाउनलाई पार्टीभित्र व्यापक छलफल जरुरी रहेको धारणा राखे ।
गत फागुन १४ गते बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयप्रति प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सन्तुष्ट थिएनन् । जसले गर्दा मन्त्रिपरिषद् बैठकबाट गौतमको नाम राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस भएको छैन । अरु त्यहीबीचमा राष्ट्रियसभा सदस्यका अर्का आकांक्षी युवराज खतिवडालाई अर्थमन्त्री बनाए ।
त्यसयता सचिवालयले गरेको निर्णयलाई ओलीले अस्वीकार गरेको भन्दै नेकपाभित्र उनको स्वेच्छाचारीविरुद्ध मोर्चाबन्दी सुरु भएको थियो ।
यसैक्रममा पार्टीको निर्देशन नमानेको भन्दै प्रधानमन्त्री ओलीको चर्को विरोध भइरहेका सन्दर्भमा पछिल्लो पटक बैशाख ८ सरकारले ल्याएको अध्यादेशपछि त उनको राजीनामा नै माग्न थालियो ।