प्रधामन्त्री ओलीविरुद्धको रिटमा प्रधानन्यायाधीश जबराले सुनुवाई गर्ने - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

प्रधामन्त्री ओलीविरुद्धको रिटमा प्रधानन्यायाधीश जबराले सुनुवाई गर्ने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा उच्चारण गरेको ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्च अदालतमा परेका चारै रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको दैनिक पेशी सूचिमा चार वटै रिट प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको छ। चारै रिटमाथि आज सुनुवाइ हुने भएको हो।

३१ वैशाखमा शपथ खुवाउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने दोहोर्‍याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए। प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दा राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन भएको भन्दै सर्वोच्चमा रिट परेका हुन्।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले रिट दायर गरेका थिए। त्यस्तै, अधिवक्ता सन्तोष भण्डारी, राजकुमार सुवाल र नवराज अधिकारीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

रिटमा ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८।१।३१ मा भएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक शपथग्रहण गर्नु र गराउनु भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ’ भन्ने माग गरिएको छ।

रिटमा भनिएको छ, ‘‘साथै, प्रधानमन्त्री तथा मन्त्रीले लिने शपथको ढाँचासहितको संघीय कानून अविलम्ब बनाउनु भनी विपक्षीहरूको नाममा परमादेशको समेत आदेश जारी गरी पाऊँ।”