प्रधानमन्त्रीलाई चीनबाट विद्यार्थीको चिट्ठी: ‘तपाईं मुरलीमा रमाउनुहोस्, हामी निसास्सिएर मर्छौं’
काठमाडौं-चीनआट सुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वका धेरै देशमा फैलिएको छ । हालसम्म यसको सङ्क्रमणबाट करिव ५ सय व्यक्तिको ज्यान गईसकेको छ भने हज्जारौंमा संक्रमण सेखिएको छ ।
अन्य देशले चीनबाट आफ्ना नागरिकलाई भटाभट उद्दार गरिरहेको बेला नेपालीहरू भने टुहुरो जस्तै बनेका छन् । यस्तो बेलामा उनीहरूमाथि के बितिरहेको होला ? यस्तैमा चीनको वुहानमा रहेकी एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत खुलापत्र पठाएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुरली बजाएर रमाइरहेको बेला कोरोना भाइरसबाट फैलिएको महामारीको चपेटामा परेको वुहानबाट प्रमिला देवकोटाले प्रधानमन्त्री ओलीका नाममा खुलापत्र लेख्दै आफूहरु उद्धारको पर्खाइमा रहेको बताएकी छन्।
उनले आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन बितिसक्दा पनि आफ्नो देशको सरकारले उद्धार नगरेकोमा दुखेसो गरेकी छन्।
यस्तो छ उनले लेखेको पत्र
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
तपाईँहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुबेईमा भएका विद्यार्थीहरु भने रातभर तपाईलगायतका नेताहरुले मुरली बजाएकाे तस्बिर हेरेर आफैँलाई चिथोरिरह्यौँ।
हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौँ। हामी यहाँ हरेक मिनेट नेपालका समाचार हेरेर बिताइरहेका छौँ, हाम्रो घर फर्कने समाचारको आसमा।
त्यो समाचार त पाएनौँ तर तपाईहरुले बाजा बजाइरहको तस्बिर भने पायौँ। हामी तपाईँ रोम जल्दा मुरली बजाउने निरो हो त भन्दैनौँ। तपाईँका विगतका काम हेर्दा हामीलाई लाग्दैन तपाईँको मुटु त्यति कठोर छ। तर तपाईँले पक्कै मान्नुपर्छ हामी अत्यासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईँले आफूमा संवेदना भने नभएको पुष्टि गर्नुभएको छ।
हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौँ भनेर छलफल गरिरहेका छौँ। हाम्रा नजिकैका भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका जनताभन्दा हामी किन फरक भयौँ भनेर सोच्यौँ। यहाँ डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडि पढ्न आएका युवायुवती छन्। उनीहरु सोच्दछन् देश बन्न त भूगोल मात्रै काफी हुन्न। देश भूगोलमा बस्ने जनताले बनाउँछ।
अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ, भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझ्नुभएको होला। तर तपाईलाई नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गर्यौं।
देशमा स्रोत छैन, ठीक हो नहुनु आफैमा दोष होइन। तर स्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईँहरुलेर? हामी यहाँ सोच्दैछौ कुनै दाता तपाईँ कहाँ हामीलाई १४ दिन लगिदिने प्रस्ताव लिएर किन आइदिएन ?
त्यो सहरमा हामी अट्ने ठाउँ खोज्न तपाईहरुले चीनले अस्पताल बनाउँने भन्दा बढी समय लगाउनुभयो। तपाईँहरुलाई काम गर्न नपर्ने र राज्य चलाउन पाइरहने किन बनायौँ हामीले? त्यो सोचेर पनि आफैलाई चिथोर्न मन लाग्छ।
कुन समय आउँछ नागरिकको जीवनमा जब उसलाई लाग्छ, यस्तो देशमा किन जन्मिए? हामीलाई पहिलोपटक यस्तै लागेको छ। आश छ, हामी यहाँ सकुशल हुँदै हाम्रा बा जस्तो प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस् र हाम्रा अर्का रातहरु आशमा अत्यासिएर बाच्न नपरोस्।
हामी वुहानमा अत्यासिएका नेपाली
तस्बिर: नेपालसमय