संकटमा डाक्टर हातोत्साहित पार्ने मन्त्रीलाई नियन्त्रणमा लिन माग
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाइँमा अग्रभागमा रहेका स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।
शनिबार स्वास्थ्य मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टीकरण मागेको र कारबाही गर्ने तयारी गरेको बिषय सार्वजनिक भएपछी स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना भैरहेको छ ।
कोरोना संक्रमितको उपचारमा खटिइरहेका स्वास्थ्यकर्मीमाथि निरन्तर प्रहार भइरहेको भन्दै प्रवक्ता शर्माले त्यसरी हतोत्साहित गर्ने जोकोहीलाई नियन्त्रणमा लिन आग्रह गरेका हुन्।
प्रवक्ता शर्माले आजको तेस्रो विश्वयुद्धका कमान्डर डाक्टरहरु भएको भन्दै यसको कमाण्ड गर्ने डाक्टरलाई नै हतोत्साहित गर्ने र कारबाही गर्ने कार्य निन्दनीय भएको आसय ब्यक्त गरेका छन् ।
‘आजको ‘तेस्रो विश्वयुद्ध’का कमान्डर स्वास्थ्यकर्मीहरु हुन्। कमान्ड गर्नेले लड्छ पनि, बोल्छ पनि। कृषिबारे कृषिमन्त्रीले भन्दा कृषकले बढी जान्न सक्छन्। स्वास्थ बारेपनि सत्य यही हो’, आइतबार सामाजिक सञ्जाल ट्विटरमा प्रधानमनत्री ओलीलार्इै मेन्सन गर्दै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थकर्मीलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा लिनोस्।’
यसअघि त्रिवि शिक्षण अस्पतालका आवसीय डाक्टरमाथि प्रहरीबाटै कुटपिट भएको थियो। त्यसको सर्वत्र विरोध भएपछि प्रहरीले कुटपिटमा संलग्न प्रहरी जवान र महाराजगञ्ज वृत्तका डीएसपीलाई मेट्रो तानेको थियो।