नेपालमा कोरोनाको डरलाग्दो अवस्था: एकैदिन ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ ।
पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।
वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
उनी मधुमेहका बिरामी हुन् । साउन १८ गते पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराएका उनमा संक्रमण पुष्टि भएको थियो ।
मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो ।
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।
यस्तै सप्तरीमा मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।
थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । तर उनको बाटोमै मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।