नेपालीहरू विश्वभर समस्यामा: सरकार भन्छ- 'कसैलाई ल्याउन सकिन्न' - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

नेपालीहरू विश्वभर समस्यामा: सरकार भन्छ- ‘कसैलाई ल्याउन सकिन्न’



काठमाडौं- विश्वभर कोरोना महामारी फ़ैलिएपछि यतिबेला विश्व आक्रान्त बनेको छ । नेपाल पनि कोरोनासँग जुधिरहेको छ । महामारी नाफैलिएपानी नेपालमा पनि संक्रमित भेटिने क्रम जारी छ।

यतिबेला विभिन्न मुलुकमा रहेका थुप्रै नेपालीहरु पनि अप्ठेरोमा परेका छन् । कतिपय देशमा त अलपत्र परेको समेत खबर आइरहेको छ ।

कतिपय देशमा बस्नेहरुको भिसा सकिएको छ भने केही मुलुकहरुले अवैध कामदारलाई आममाफी दिएर स्वदेश पठाउन खोजिरहेका छन् ।

नेपाल सरकार भने तत्काल कसैलाई पनि फिर्ता नल्याउने अडानमा छ । रोजगारीका लागि भारत पुगेका नेपालीहरुले ‘लकडाउन’का कारण रोजगारी नै गुमाएका छन् ।

रोजगारी गुम्दा खाने–बस्नेसमेत समस्यामा परेका उनीहरु स्वदेश फर्कन नेपाल सरकारसँग हारगुहार गरिहेका छन् ।

रोजगारी गुमाएका, भिसा सकिएकाजस्ता गम्भीर समस्यामा परेकाहरुलाई तत्काल स्वदेश फर्काउन चौतर्फी आवाज पनि उठिरहेको छ ।

मलेसिया, साउदी अरब, कुवेतलगायत केही मुलुकहरुले अवैधरुपमा बस्दै आएकाहरुलाई आममाफी दिएका छन् ।

ती मुलुकहरुमा आममाफी पाउने नेपालीको संख्या ३५ हजारजति हुने सरकारको अनुमान रहेको छ । सरकारले अप्ठेरोमा परेकाहरुको पहिचान गर्ने र प्राथमिकताको आधारमा स्वदेश फर्काउने बताएपनि तत्काल कसैलाई पनि स्वदेश नल्याउने भएको छ ।

देशभित्र दिनानुदिन संक्रमणको संख्या बढ्दै जानु, पर्याप्त ‘क्वारेन्टाइन’को व्यवस्था नहुनु र जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान नै बन्द गरिएकाले तत्काल कसैलाई ल्याउन नसकिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन् ।

विदेशमा बस्ने नेपालीहरुको समस्या दिन–प्रतिदिन बढ्दै जानेमा शंका छैन । ढिलो–चाँडो उनीहरुलाई स्वदेश नल्याएरपनि सरकारले सुख पाउने छैन । त्यसैले परिस्थिति भयावह नबन्दै तयारी गर्नु जरुरी छ ।