वार्तामा नेपालका चार प्रस्ताव र ओलीका पाँच अडान
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।
एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका थिए ।
दुवै नेता आफ्नो अडानमा तलमाथि नभएपछि वार्ता सफल नभएको हो । ओली र नेपालको लगातारको दुई दिनको संवादपछि पार्टीमा नयाँ संचार भएको थियो । छलफल बिग्रेपछि अब कहिले भेट गर्ने भन्ने पनि टुग्गो लागेन भने मिल्ने सम्भावना पनि करिब करिब सकिएको छ ।
ओलीसँगको संवाद फलदायी हुने र मिल्ने सम्भावना नदेखेपछि नेपाल आफू जनकपुर जानुपर्ने कार्यक्रम रहेको भन्दै वार्ताबाट छुट्टिन खोजेका थिए । त्यसपछि ओली-नेपाल संवाद बिना निष्कर्ष आ-आफ्नै अडानमा टुग्गिएको थियो।
माधव नेपालका प्रस्ताव:
- महाधिवेशन आयोजक समितिका नाममा शुक्रबारका लागि बोलाएको बैठक रोक्नुपर्छ ।
- माओवादी केन्द्रसँग एकता गर्नु पूर्वको अर्थात् २०७५ जेठ २ अघिको अवस्थामा फर्काउनु पर्छ । त्यो बेलाको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनु पर्छ ।
- जिल्ला कमिटीमा पनि २०७५ जेठ २ गते सम्म जो-जो अध्यक्ष रहनु भएको थियो, उहाँहरुलाई पुनःबहाली गर्नुपर्छ ।
- फागुन २८ को निर्णय सच्चाउनुस् । थपिएका केन्द्रीय सदस्य विद्यान विपरित छन्, जिम्मेवारी खोसिएकालाई जिम्मेवारीमा पहिलेकै अवस्थामा फर्काउनुस् ।
केपी शर्मा ओलीको अडान:
- पार्टी केन्द्रीय समितिले महाधिवशेन आयोजक समिति बनाइसकेको छ । अब त्यो बैठकको तयारी पूरा भएकाले रोकेर जान सकिदैन ।
- पार्टी त्यसभन्दा धेरै अगाडि बढिसकेकोले अब त्यसैमा अल्झिएर बस्ने बेला छैन । त्यो तपाईंले राखेको सर्त ब्यबहारिक छैन ।
- प्रचण्ड जीसँग मिलेर पुस ७ मा मलाई पार्टीबाट हटाइसके पछि पनि मैले पार्टी जोगाउन र आफूलाई साथ दिएका र त्यसपछि बनेका जिल्ला नेतृत्व अहिले पनि एमालेको शक्ति हुन् । तिनलाई कसैलाई पनि तलमाथि गर्न सकिन्न । उनीहरु नै जिल्लाको नेतृत्व हुन् ।
- माओवादीसँग एकता गर्नुपूर्व एमाले कालका अध्यक्षलाई माथिल्ला कमिटीमा व्यवस्थापन गर्न सकिन्छ । तर अहिले बनेका नेतृत्वलाई हटाएर पुरानालाई पुनःस्थापित गर्न अब सकिदैन ।
- नेकपा एकीकरणका क्रममा समेटिएका एमाले र माओवादी दुवैतर्फका केन्द्रीय सदस्य जो अहिले एमालेमा छन्, उनीहरु सबै यथावत रहन्छन् । रामबहादुर थापा बादलसहित माओवादीमा नफर्की एमालेमा हामीसँगै रहेका नेताहरु जिम्मेवारीविहीन हुन सक्दैनन् । त्यस्तो शर्त मानिन्न ।