नेपाल लकडाउन मुक्त, कुन देशमा लकडाउनको अवस्था कस्तो छ ?
कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छ ।
मन्त्रिपरिषद्को मंगलबारको निर्णयले ११ चैतदेखि लागू गरिएको लकडाउन ६ साउनको राति १२ बजेदेखि अन्त्य भएको छ । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय छ । १५ साउनदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिनेछन् । त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा सुरु गरिनेछ ।
सरकारले १ भदौदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । तर, स्कुल–कलेजमा पठनपाठन भने तत्काल हुनेछैन । त्यसबारे पछि निर्णय हुने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
लकडाउन खुलाइए पनि शैक्षिक संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन–ब्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द नै रहने छन् ।
जोखिमका बाबजुद आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सरकारले लकडाउन खुलाउने निर्णय गरेको हो । लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना नगर्नेलाई कानुनी कारबाही गरिने मन्त्री युवराज खतिवडाले बताए । स्वास्थ्य मापदण्ड पालना गराउन देशभरि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । उल्लंघन गर्नेलाई उनीहरूले संक्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्नेछन् ।
लकडाउन खोल्न हतार भएको चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले उच्च सावधानी नअपनाए काठमाडौंमा दिल्लीमा जस्तै संक्रमण फैलिने जोखिम रहेको बताएको नयाँ पत्रिकाले लेखेको छ ।
‘हामीले पाँच हजारको परीक्षण गर्दा सबैको नेगेटिभ आयो,’ उनले भने, ‘तर, त्यसको मतलब संक्रमण फैलिएको छैन भन्ने होइन, हामीले र्यान्डम्ली परीक्षण गरेका हौँ, धेरै परीक्षण गर्नै बाँकी छ, त्यसकारण काठमाडौंजस्तो घनाबस्ती भएको ठाउँमा संक्रमण फैलिने उच्च जोखिम कायमै छ । दिल्लीमै जसरी समुदायमा नजाला भन्न सकिन्न ।’ मास्क नलगाउने प्रवृत्ति सर्वसाधारणमा देखिएको र धेरै स्थानमा भिडभाड देखिन थालेकाले पनि जोखिम बढेको उनको भनाइ छ ।
डा. रवीन्द्र पाण्डेले पनि व्यापक परीक्षण नगरी लकडाउन खोल्ने सरकारको निर्णय अपरिपक्व भएको बताए । कडाइ नगरे जनस्वास्थ्यमा संकट आउन सक्ने उनको भनाइ छ । भारतमा तीव्र गतिमा संक्रमण फैलिएकाले पनि नेपालमा जोमिम कायमै रहेको विश्लेषण स्वास्थ्य मन्त्रालयको पनि छ ।
कुन देशमा लकडाउनको अवस्था कस्तो छ ?
अमेरिका : कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले पनि सामाजिक दूरीसहितको बन्देज क्रमशः खुला गरिरहेको छ । विभिन्न राज्यका गभर्नरले वस्तुस्थिति हेरेर निर्णय लिइरहेका छन् । सबै राज्यले लकडाउन गरेका थिएनन् । अमेरिकाका ५० राज्यमध्ये अधिकांशमा रात्रि क्लब, बार तथा भिडभाड हुने समारोहमा रोक लगाइएको छ ।
भारत : भारतले ८ जुनदेखि रेस्टुरेन्ट, कार्यालय, सपिङ मल खुला गरेको छ । आन्तरिक उडान २५ मेदेखि खुला छ । बस र रेलसेवा चालू छ । सिक्किम, छत्तिसगढ, केरला, कर्नाटक, जम्मु–कस्मिर, महाराष्ट्र र पश्चिम बंगालका सीमित क्षेत्रमा मात्रै लकडाउन जारी रहेको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जनाएको छ । भारतमा प्रतिदिन ३० हजारभन्दा बढी नयाँ संक्रमित भेटिइरहेका छन् भने प्रतिदिन औसत पाँच सयजनाभन्दा बढीले संक्रमणबाट ज्यान गुमाइरहेका छन् ।
चीन : चीनले संक्रमित देखिएका स्थानलाई मात्रै सिल गर्ने गरेको छ, बाँकी ठाउँ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खुला गरेको छ । पछिल्लो समयमा बेइजिङ, मुस्लिम बाहुल्य सिन्जियाङलगायत क्षेत्रमा संक्रमित देखिएका छन् ।
हङकङ : हङकङमा दैनिक सयको संख्यामा कोरोना संक्रमित भेटिएपछि बार, जिम, क्लबमा कडाइ गरिएको छ ।
बेलायत : बेलायतले २५ जुलाईदेखि लागू हुने गरी जिमखाना, स्विमिङ पुल, खेलमैदान तथा खेलकुदका क्षेत्र खुला गरेको छ । १ अगस्टदेखि विभिन्न कार्यालय कसरी खोल्ने र स्टाफहरूले सुरक्षित रूपमा कसरी र कहाँबाट काम गर्ने भन्ने तय गरिने बिबिसीले जनाएको छ ।
त्यही दिनबाट क्यासिनो, सैलुन, ब्युटिपार्लरसहित मनोरञ्जनका क्षेत्र पनि खुला गरिनेछन् । सामाजिक दूरीसहित कन्सर्ट पनि आयोजना गर्न पाइनेछ । एक महिनासम्मका लागि वैवाहिक समारोहका पार्टीमा बढीमा ३० जना सहभागी हुन पाउनेछन् । सेप्टेम्बरदेखि विद्यालय, किन्डर गार्डेन तथा क्याम्पसहरू पूर्ण रूपमा खुला हुनेछन् । विश्वविद्यालयहरूले पनि यसका लागि गृहकार्य गरिरहेका छन् । अक्टोबरदेखि रंगशाला खुल्नेछन् । सभा, सम्मेलन तथा व्यापारिक समारोहहरू सुरु हुनेछन् ।
जर्मनी : जर्मनीले कतिपय विद्यालय, खेलमैदान, सैलुन, गिर्जाघर, संग्रहालय खुला गरेको छ । तर, स्वास्थ्य प्रोटोकल अनिवार्य गरेको छ ।
स्पेन : स्पेनले २१ जुनबाट लकडाउन हटाएको छ । देशभित्र यात्रा पूर्ण रूपमा खुला छ । बाहिरबाट जाने यात्रुले क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य छैन । तर, बार्सिलोनालगायत केही ठाउँमा भने अत्यावश्यक कामबाहेकको अवस्थामा बाहिर नजान सरकारले आग्रह गरेको छ ।
इटाली : इटलीले १० हप्ता लामो लकडाउन खुला गरेको छ र पर्यटन प्रवद्र्धनका लागि गृहकार्य गरिरहेको छ ।
इजरायल : इजरायलले बजार, विद्यालय, खेलमैदानलगायत पूर्णतः खुला गरेको छ । तर, संक्रमित बढेपछि सरकारको आलोचना भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
न्युजिल्यान्ड : २५ मार्चबाट जारी गरेको लकडाउन ८ जुनबाट हटाएको छ । सार्वजनिक स्थल खुला गरिएका छन् । सामाजिक दूरी बाध्यकारी बनाइएको छैन । सामाजिक कार्यक्रममा बन्देज छैन ।