नेपालमा कोरोना फैलिन नदिन चीनले सहयोग गर्ने: राजदूत यान्छी - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

नेपालमा कोरोना फैलिन नदिन चीनले सहयोग गर्ने: राजदूत यान्छी



काठमाडौं – नेपालमा कोरोना भाइरस फैलिन नदिन चीनले सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले सहयोग गरिरहेको र अब पनि गर्ने बताएकी हुन् ।

यान्छीले नेपालमा संक्रमण फैलिन नदिन चीनले नियमित उडानलाई घटाएको दाबी समेत गरेकी छन् । उनले समूहमा हुने भ्रमण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको बताएकी छन् ।

बिहीवार दूतावासमा नेपाल टेलिभिजन र रेडियो नेपालसँग दिएको अन्तर्वार्ताका क्रममा राजदूतले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन् ।

‘एउटा राम्रो आपतकालीन संयन्त्रले आवश्यक सामाग्री आपूर्ति र माहामारी रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुनसक्छ,’ उनले भनिन्, ‘यस्तो संयुक्त राष्ट्रिय योजना सबै क्षेत्रको संलग्नतामा जवादेही तरिकाले हुनुपर्छ । सरकार, सामाजिक संघ संस्था र सर्वसाधारण जनताले आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्दछ । खुला तथा पारदर्शी सूचनाले मानिसहरुको भावनालाई स्थिर राख्दै सरकारप्रतिको विश्वनीयता बढाउँछ। यसले नकरात्मक हल्लाहरुसँग लड्न पनि सहयोग पुर्‍याउँछ ।’

महामारी रोकथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको राजदूत होउले बताइन् । त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन् ।

राजदूत यान्छीले नेपाल र नेपालीले चीनमा फैलिएको माहामारीबाट आक्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐक्यवद्धता र सद्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन् ।

‘चिनियाँ जनताले यो सद्भाव र सहयोग भुल्ने छैनन् । नेपाल र नेपालीलाई आवश्यक पर्दा उनीहरुले यो सहयोग चुक्ता गर्ने छन्,’ यान्छीले भनिन् ।

विकसित देशहरुले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँदै विकासशील देशहरुलाई सहयोग प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।

उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन् ।