नेपालमा अचम्मको संक्रमण: विदेशबाट फर्केको ६७ दिनपछि कोरोना पुष्टि
काठमाडौं- नेपालमा कोरोना संक्रमणका अचम्मका संक्रमितहरू भेटिने क्रम जारी छ । हालसम्म भेटिएका सबै जसो संक्रमितमा लक्षण नै देखिएको छैन ।
यस्तै शनिबार भेटिएका सिराहाका एक जना संक्रमितलाई विदेशबाट फर्केको ६७ दिन पछि कोरोना संक्रमण भएको भेटिएको छ । सिरहामा फेला परेका ति कोरोना संक्रमित वैदेशिक रोजगारबाट घर फर्केका खुलेको हो ।
शनिबार सिरहामा पहिलो संक्रमितको रुपमा फेला परेका सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाहीका ३० वर्षीय पुरुष गत फागुन २८ गते मलेसियाबाट घर फर्केको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिएका छन् ।
फागुन २८ गते मलेसियाबाट आएका पुरुषलाई क्वारेन्टाइनमा १४ दिन राखेर घर फर्काइएको थियो । तर पाँचदिन अघि उनको स्वाब सकलन गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको खोजी गर्नेकाम सुरु भएको प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए ।
यो सँगै प्रदेश २ को आठ वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । प्रदेश २ मा अहिले सम्म तीनजना पत्रकारसहित एक सय भन्दा धेरै संक्रमित फेला परेका छन् ।