भ्रष्टाचारीलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै शंका हुन्छ: नेता नेपाल - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

भ्रष्टाचारीलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै शंका हुन्छ: नेता नेपाल



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्टाचार गर्नेलाई तत्काल कार्वाही नगरे अब प्रधानमन्त्रीमाथि नै प्रश्न गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उनले यस्तो अवस्थामा पनि भ्रष्टाचार गर्नेलाई बिना हिचकिचाहट तत्काल कारबाही गर्न समेत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

ईमेज च्यानल टेलिभिजनसँग मंगलबार कुरा गर्दै पूर्वधानमन्त्रीसमेत रहेका नेपालले कार्वाही नगरी संरक्षण गर्न खोजिए प्रधानमन्त्रीतर्फ नै प्रश्न खडा हुने बताएका हुन् ।

सञ्चारमाध्यममा भ्रष्टाचार भएको बारेमा त्यत्रा विषय आएको भन्दै नेता नेपालले खोजबिन गरेर सत्यतथ्य पत्ता लगाउन र बदमासीको ठहर गरी कार्वाही गर्न माग गरेका हुन् ।

यत्रा भ्रष्टाचारकाण्डको जिम्मा कसले लिने ? नेकपा पार्टीले कि सरकारले भन्ने प्रश्नको जवाफ दिँदै नेता नेपालले भने, ‘कुनै मोलाहिजा र कुनै संरक्षण नगरीकन कार्वाही गर्नुपर्दछ । संरक्षण गर्न थाल्नुभयो भने तपाईमाथि नै प्रश्न खडा हुन्छ ।’

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको कुरा मात्र आएको नभई बजार मूल्यभन्दा कयौं गुणा बढी मोल तिरेर सामान ल्याएको र त्यो पनि गुणस्तर नै नभएको विषयमा तत्काल छानबीन गरिनुपर्ने उनको भनाइ छ ।

नेता नेपालले भने, ‘जनताले एक एक पैसा जम्मा गरेर, सहयोग गर्ने दाताहरुले दिइरहेका छन् । तलब काटी काटी दिएका छन् । खर्च बचाएर दिइरहेका छन् । एक एक पैसाको ठूलो महत्व हुन्छ । यस्तो बेलामा कुनै व्यापारीले पनि ठग्ने काम नगर्नुहोस् । जनतालाई यस्तो दुःख दिने, सताउने काम नगर्नु होला ?’

सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेता नेपालले यस्तो बेला नाजायज काम गर्नेहरु सल्बलाउन सक्ने र राम्रो काम गरे मात्र जनताको समर्थन पाउने भएकाले गुनासा नआउने गरी काम गर्न सुझाव दिए ।

नेता नेपालले अगाडि थपे, ‘नराम्रो काम गरे समर्थन गुम्छ । भ्रष्टाचारजन्य कामहरु नहोस् । यसबारेमा कम्प्लेनहरु आएका छन् । भाउ बढाएको, कुहिएको सामान दिएको, थोरै सामान दिँदा हुनेमा पनि नगरेका कुरा आएको छ । मिठो बोली प्रयोग नगरेको गुनासाहरु आएका छन् ।’

पार्टीको बैठकमा पनि सरकारले गरेका कामको कमीकमजोरीबारे छलफल भएको जानकारी दिँदै उनले गल्ती गर्नेलाई कुनै बहानामा नछाड्न र अनुचित काम गर्नेलाई दण्ड सजायँ दिन भनेको बताए ।