सभामुख सुवास नेम्वाङलाई बनाउने सहमित - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सभामुख सुवास नेम्वाङलाई बनाउने सहमित



काठमाडौं । तत्कालीन सभामुख कृ्ष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा भएपछि सभामुख पद रिक्त छ । सभामुख पद रिक्त हुँदा संसदका कतिपय कामहरु अघि बढ्न सकेका छैनन् ।

अहिले रिक्त पदमा कसलाई ल्याउने भन्‍ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र छलफल भइरहेको छ । रिक्त पदमा फेरि नेकपाकै ल्याएमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हु्न्छ ।

संविधान अनुसार सभामुख र उपसमामुखमध्ये एकजना महिला र फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था गरेको छ ।

सत्तारुढ दलले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने र सभामुख पद आफुले राख्‍ने योजना नेकपाको छ । नेकपामा सभामुख बन्‍न पूर्वमाओवादी समूह पनि सक्रिय थियो । तर, अहिले पूर्वमाओवादी समूह पछि हटेपछि तत्कालिन एमाले तर्फका संसदीय दलका उपनेता सुवास नेम्वाङले त्यो अवसर पाउने भएका छन् ।

उनी यसअघि २०६३ सालमा पुनस्थापित संसद, रुपान्तरिक संसद, २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० मा भएको दोस्रो संविधान सभामा सभामुख भइसकेका छन्।

पार्टी एकता पहिला माओवादी खेमाबाट कृष्णबहादुर महरा सभामुख भएकाले अहिले पनि उक्त खेमाबाटै सभामुख चयन हुनुपर्छ भन्ने बहस नेकपाभित्र भए पनि उक्त विषय विस्तारै ओझेल पर्दै आएको नेताहरुको दाबी छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अन्तिम निर्णय गर्ने भए पनि पार्टीभित्र नेम्वाङलाई नै सभामुख बनाउन लगभग सहमित जुटेको पूर्वमाओवादी खेमाका एक नेताले बताए।

ओली पद रिक्त भएदेखि नै नेम्वाङको पक्षमा रहेपनि अर्का अध्यक्ष दाहाललाई पूर्वमाओवादी खेमाले सभामुख एकतापूर्वको शक्ति सन्तुलन कायम हुनुपर्ने दबाब दिँदै आएका थिए। तर उक्त समूह पनि विस्तारै नेम्वाङकै पक्षमा उभिने अवस्थामा पुगेको दाहाल निकट एक नेताले बताए।

उनले भने, ‘विभिन्न कारणले सुवासजी नै सभामुख बन्नुहुन्छ। पूर्वमाओवादी खेमाबाट उहाँकै पक्षमा सहमति जुट्छ।’

पूर्वमाओवादी पक्षले अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको थियो भने उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफूले सभामुखको जिम्मेवारी पाउनु पर्ने माग राख्दै आएकी छिन्।

नेम्वाङले कसलाई सभामुख बनाउने भन्ने निर्णय दुई अध्यक्षले नै गर्ने भन्दै पन्छिए। नेम्वाङले भने, ‘त्यो बारेमा छलफल चलिरहेकै होला। आज भने अरु विषयमा छलफल गर्न मलाई प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभएको छ।’

प्रचण्ड निकट अर्का नेताका अनुसार नेम्वाङलाई नै सभामुख बनाउन दुई दलले २०७४ मा चुनावी तालमेल गरेर झण्डै दुई तिहाइ बहुमत आएको उत्साहमा प्रचण्डले वचन दिएका थिए। जुन वचन कार्यान्वयन हुन अवसर आएको उनको भनाइ छ।

त्यस्तै अनुभवी र पार्टीभित्र एकताको सन्देश दिन पनि नेम्वाङ उपयुक्त पात्र भएको ती नेताको जिकिर छ।

गएको असोजमा तत्कालीन सभामुख महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीमात्रि जबरजस्ती करणी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए। संसदको हिउँदे अधिवेशन पुस ४ गते सुरु भएको र अर्को बैठक ११ गतेका लागि बोलाइएको छ।

उक्त बैठकले सम्भवत पुस १३ गते सभामुखको चुनाव गर्ने गरी कार्यतालिका आउने संसद सचिवालय स्रोतको भनाइ छ। ११ गतेको बैठकअघि नेकपाले निर्णय गर्नेछ।

मंगलबार उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालले सरकार छाडेसँगै तुम्बाहाम्फे कानुनमन्त्री भन्ने सम्भावना बढेको छ।