ओली र प्रचण्डलाई नेताहरूले भने: अलिकति लाज पनि लागेन ?
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूले नेतृत्वलाई लाजै लाग्नेगरी प्रश्न गरेका छन् ।
एकीकरणपछि पहिलोपल्ट औपचारिक बैठकमा सहभागी हुन आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरू पुलकित देखिए । सातदिनसम्म चल्ने कार्यक्रममा सहभागी हुन पाउँदा उनीहरूमा खुसीको सीमा नै थिएन ।
तर, भित्र छिर्न बित्तिकै देखिएको दृश्यले उनीहरूको होस् खल्बल्यायो । परिवर्तनका लागि दिलोज्यान दिएका, रगत–पसिना बगाएका नेताहरूलाई मञ्चको दृश्य पाच्य भएन । डाह, छटपटी भयो ।
सामन्तवाद हटाउन ऊर्जाशील समय, उमेर समर्पण गरेर आएका नेता कार्यकर्तालाई मञ्चमा नेताको फोटो टाँसेर देवत्वकरण गरिएको मन पर्ने कुरा थिएन । व्यक्ति पूजाको विद्रूप नमुना थियो त्यो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको फोटोसँगै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड केका लागि झुण्ड्याइएको हो उनीहरूले ठम्याउन सकेनन् ।
नेतृत्वले जे गरे पनि चुपचाप सहँदै आएका नेता कार्यकर्ताले प्रतिवाद गर्ने आँट गरेनन् । मुख फोरेर भन्न पनि सकेनन् ।
राजसंस्थाविरुद्ध विद्यार्थी आन्दोलनको अगुवाइ गरेका राजेन्द्र राइलाई पचेन । पार्टी कमिटीको बैठकमै सामन्तवादको छाया सलबलाएको सहन सकेनन् । उनले मुख फोरे ।
“मञ्चमा दुईजना अध्यक्षको फोटो किन टाँसियो ? यसको औचित्य के हो ? जवाफ चाहियो !,” बैठक सुरु हुनेबित्तिकै समय माग गरेर राईले जवाफको माग गरे ।
फोटो पूजाको संस्कृतिबाट पार्टी मुक्त हुनुपर्छ भन्ने मान्यतामा अडिए । र, तुरुन्तै मञ्चबाट दुईजना अध्यक्षको फोटो हटाउन अनुरोध गरे ।
राई एक्लो भएनन् । उनलाई साथ दिन पूर्वएमाले समूहका केन्द्रीय नेता जगन्नाथ खतिवडा पनि अघि सरे । उनले त अझै कडा भएर प्रश्न गरे, “मञ्चमा दुईजना अध्यक्षको फोटो झुण्ड्याउँदा तपाईंहरूलाई अलिकति पनि शरम लागेन ? लाज मान्नु भएन ?”
पूर्वमाओवादी केन्द्रले नेतृत्वको देवत्वकरण सुरुदेखि नै गर्दै आएको थियो । पार्टीले अघि सारेको सशस्त्र संघर्षको कार्यदिशालाई प्रचण्डपथ विचारधाराको रूपमा अङ्गीकार गरेको थियो । पार्टीका कार्यक्रमहरूमा, सभा–सम्मेलनमा जीवित नेताको फोटो टाँस्थ्यो ।
त्यही रोग नेकपाका भित्रिएपछि नेताहरू झस्किए । पार्टीका औपचारिक कार्यक्रममा जीवित नेताको फोटो झुण्ड्याउने निर्णय सचिवालय, स्थायी कमिटीले गरेको थिएन । कम्युनिस्ट पार्टीको प्रचलन, संस्कार, संस्कृति पनि त्यो होइन ।
यसअघि कार्यक्रममा कार्ल मार्क्स, भीआई लेनिन, माओत्सेतुङआदि नेताको फोटो टाँसिन्थ्यो । ती स्थान जीवित नेताका फोटाले लिन थालेका हुन् कि ? कम्युनिस्ट आन्दोलनका मञ्च नेतृत्वको पूजा–अर्चनाले ओगट्न थालेको हो कि भनेर नेता–कार्यकर्ता तहमा चिन्ता व्यक्त हुन स्वाभाविकै थियो ।
खतिवडाले त्यसैमा टेकेर प्रश्न गरे, “पार्टी कमिटीका कार्यक्रममा नेताहरूको फोटो टाँस्ने निर्णय कुन कमिटीले, कुन बैठकले ग¥यो ?”
मञ्चमा बसेका सचिवालयका नेताहरू अवाक् भए ।
पार्टीको औपचारिक कार्यक्रममा शीर्ष नेताको फोटो झुण्ड्याएको यो नै पहिलो घटना भने थिएन । यसअघि वैशाख ९ गते पार्टी स्थापना दिवसको सन्दर्भ पारेर नेकपाले जिल्ला तहका कमिटीको एकीकरणको घोषणा गरेको थियो ।
त्यो कार्यक्रममा पनि यसैगरी अध्यक्षद्वयको फोटो मञ्चको दायाँबायाँ सजाइएको थियो । पार्टी एकताको माहोल भएकाले त्यतिबेला विषयले खासै चर्चा पाएन ।
तर केन्द्रीय कमिटीको बैठकमा भने यस विषयले ठूलै बहस निम्त्याउने छ ।