नेकपा नेताहरूले चर्काए स्वर: ‘भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ’
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक जारी हुँदैगर्दा विभिन्न गम्भीर बिषयमा नेताहरूले आवाज उठाएका छन् ।
बैठकमा नेताहरूले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने देखि यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ ।
बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएका हुन् ।
शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको जानकारी गराए ।
समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको जनाए ।
अहिले मृतयुदण्ड दिने कानुन नभएपनि सरकारले अब साे कानुन बनाउनु पर्नेमा आवाज उठेकाे थियो । उनले सार्वजनिक पदमा बस्नेकोसम्पत्ति छानविन गर्नुपर्ने माग पनि उठेको बैठकमा जानकारी दिए ।
सबैजसो टोलीमा यति होल्डिङ्सको जग्गा भाडामा भएको अनियमितता, बालुवाटार जग्गा प्रकरणबारे चर्चा भएको थियो ।
पछिल्लो समय सरकारका मन्त्रीहरु, पार्टीका नेताहरु विभिन्न काण्डमा मुछिन थालेको भन्दै उनीहरुले कडाइका साथ छानविन गरी सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरेका छन् ।