नेकपाका नेताले भने: ‘अध्यक्षहरूको ताल देख्दा जोगी हुन मन लाग्यो’
काठमाडौँ– बुधबारबाट जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य राजेन्द्र राइले पार्टी नेतृत्वको ताल देख्दा जोगी बन्न मन लागेको बताएका छन्।
समूह नम्बर ११ का नेता राजेन्द्र राईले आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘नेताहरुमा भ्रष्टाचार बढेको र पार्टीलाई संगठित बनाउनुको सट्टा गुटबन्दी बढेको देख्दा जोगी हुन मन लाग्छ।’
उक्त समूहले पार्टी भित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति बढ्दै जाँदा त्यो भ्रष्टाचारसँग अनिवार्य जोडिने निष्कर्ष निकाल्दै नेताहरुको सम्पत्ति छानविनका लाग आयोग गठन गर्नुपर्नेमा जोड दिएको छ।
पार्टीमा नेताहरुको सम्पत्तिको सिलिङ तोक्न र बढी भएको सम्पत्ति कब्जा गर्न माग उठेको समूहका नेता लेखनाथ न्यौपानेले जानकारी दिए।
समूह नम्बर ११ ले शनिबार आफ्नो रिपोर्ट पेश गर्दै कम्युनिष्ट नै भ्रष्ट भएको भन्ने सन्देश नपच्ने भएकोले त्यसलाई सुधार्नु पर्ने माग गरेको हो।
नेताहरुले धेरै सम्पत्ति कमाएको विषयमा जनस्तरमा समेत प्रश्न उठेको न्यौपानेले बताए।