फेरि पाँच जना सङ्क्रमित पुष्टि: २५० जना पुगे संक्रमित
काठमाडौं । सर्लाही, धनुषा र महोत्तरीमा थप पाँचजना कोरोना संक्रमित फेला परेका छन् ।
बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।
यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।
हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४/४, रौतहट, बारा र सर्लाहीमा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।