नयाँ शक्तिको लुम्बिनी बैठकको तयारी तीव्र - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

नयाँ शक्तिको लुम्बिनी बैठकको तयारी तीव्र



बुटवल – नयाँ शक्ति पार्टी, नेपालले यहि फागुन ९, १० र ११ गते आयोजना गर्न लागेको संघीय परिषद्को विस्तारित बैठकको तयारी तीव्र बनाएको छ । नयाँ शक्तिले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पार्टीको संघीय परिषद्को विस्तारित बैठक आयोजना गर्दैछ ।

बैठकमा देशभरका संगठन तथा प्रवासमा रहेको नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाजका प्रतिनिधिहरुसमेत गरी करिब एक हजार प्रतिनिधिहरु छलफलमा जुट्ने नयाँ शक्तिका केन्द्रीय कार्यालय संयोजक गंगा श्रेष्ठले बताए।

नयाँ शक्तिले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको चुनावी नतिजासहित विगतको दुई वर्षे राजनीतिक यात्राको समीक्षा गर्ने भन्दै गत पुसको दोस्रो साता कास्कीको ल्वाङ होमस्टेमा तीन दिने आवासीय बैठक गरेको थियो । महाधिवेशन आयोजक समितिको उक्त बैठकले बदलिएको राजनीतिक गन्तव्य पहिल्याउन नयाँ वैकल्पिक शक्ति अपरिहार्य रहेको निश्कर्ष निकाल्दै वैकल्पिक शक्ति निर्माणको दिशातर्फ अग्रसर हुने निर्णय गरेको थियो ।

त्यही ल्वाङ बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्दै वैकल्पिक राजनीतिको विचार, संगठनात्मक पद्धती र तत्कालीन राजनीतिक कार्यक्रमको तर्जुमा गर्न संघीय परिषद्को विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।

नयाँ शक्तिको लुम्बिनी बैठकले पार्टीलाई वैचारिक रुपले स्पष्ट बनाउँदै संगठनात्मक रुपमा पुनर्संरचना गर्ने केन्द्रीय कार्यालय संयोजक गंगा श्रेष्ठले बताए  । उनले भने – ‘लुम्बिनी बैठकले नयाँ शक्तिको वैचारिक पक्षलाई थप स्पष्ट बनाउँछ, संगठनात्मक रुपमा पार्टीलाई पुनर्संरचना गर्नेछ र व्यवस्थापकीय रुपमा विगतको अनुभवबाट सिक्दै पार्टीलाई सुव्यवस्थित बनाउँदै नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा बलियो बनाउनेछ ।’

नयाँ शक्तिको ल्वाङ बैठकले निर्धारण गरेको वैकल्पिक राजनीतिक शक्ति निर्माणको कार्यदिशा पूरा गर्नकै लागि आवश्यक निर्णय लिन लुम्बिनी बैठकको आयोजना गर्न लागिएको नयाँ शक्तिका एक युवा नेता मनिकर कार्कीले बताए । ‘ल्वाङ बैठकले तय गरेको भविष्यमुखी यात्रालाई गन्तव्यमा पुर्याउन आवश्यक वैचारिक पक्ष, सांगठनिक संरचना तथा राजनीतिक कार्यक्रमको बारेमा लुम्बिनी बैठकले ठोस निर्णय लिनेछ’, कार्कीले भने ।