'नथिया' विमर्शले उठ्याे बुटवलकाे साहित्यिक माहाेल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘नथिया’ विमर्शले उठ्याे बुटवलकाे साहित्यिक माहाेल



फागुनकाे अन्तिम हप्ता । बुटवलमा सिरिसिरे हावा र सन्तुलित माैसम । पाठक मञ्चले याे रमणिय माैसमकाे वेला छाेपेर बुटवलमा एउटा साहित्यिक कार्यक्रम गर्ने याेजना बुनिरहँदा बुकहिल प्रकाशनले सरस्वती प्रतीक्षा काे भर्खरै प्रकाशित गरेकाे उपन्यास लिएर लेखकसँगै किताब यात्रा सुइकाे पायाे ।

यसलाई सँयाेग नै मान्नु पर्छ । २० गते नै बुक हिल र पाठक मञ्चको हित्त र चित्त मिल्याे । २७ गते आइतबार बेलुकी चार बजे नथिया विमर्श गर्ने कार्यक्रम तय गर्न एक घण्टा पनि लागेन । पाठकमञ्चका सदस्यहरू आ अाफ्नाे जिम्मेवारीमा लागे । तर पनि एउटा डर थियाे । बुटवल ठूलाे शहर भईसकेकाे छ । यहाँ सबै कुनै न कुनै पेसा व्यवसायमा नलागेका साहित्यानुरागी भेटिन सम्भव छैन ।

आइतबार अझ बेलुकी ४ बजे । सबै दिनभरका कामले थाकेकाे बेला । कति जनाकाे उपस्थिति हाेला ? डराउँदै डराउँदै तयारी सुरु भयाे । आइतबार अाइहाल्याे । ४ बज्दा नबज्दै अायाेजकदलगायत निम्तारूहरू न्यू इराकाे परिसरमा जम्मा भइसकेका थिए । ३०/३५ जनाकाे उपस्थितिकाे अपेक्षा गरेका अायाेजकहरू झन्डै ८० जनाकाे उपस्थिति देखेर दङ्ग परे । कुर्सी थपे । चिया थपे । बुटवलका ऋषितुल्य साहित्यकार अजम्बरध्वज खाती, जँगबहादुर शाह लगायत देवेन्द्र घिमिरे, ऋषिराम भुसाल, राजेन्द्र आचार्य जस्ता वरिष्ठ विद्वत वर्गको उपस्थिले कार्यक्रम स्थल नै सभ्य र भव्य देखिएकाे थियाे ।

युवा कवि दलबहादुर गुरुङ, उपन्यासकार अमृत भुसाल, प्रदेश ५ कि सभासद् रमा घर्ति पनि विमर्श सुन्ने धैर्यता राखेर मुस्काइरहेका थिए । हाेराइजन स्कुलबाट ४ जना विद्यार्थीका साथमा आएका थिए शिक्षक अमित शिक्षार्थी । केही कलेजका विद्यार्थी, केही पत्रकार, केही राजनीति कर्मी र अरू सबै बुटवकाे साहित्यिक वृत्तमा कलम चलाइरहेका लेखक कवि थिए । पाठक मञ्चका रामचन्द्र श्रेष्ठले निर्धारित समय भन्दा करिब २० मिनेट पछि कार्यक्रम सुरु भएकाे उदघाेस गरे । हलमा यस्ताे माहाेल बन्याेकि सञ्चालकले कुनै भूमिका नै बाँध्नु परेन । पहिलो वक्ता थिइन जयन्ती थापा सरगम । उनले उपन्यासको कथा वस्तु र पात्रकाे परिचय गराइदिइन् र लेखकलाई केही प्रश्न पनि छोडिन । लीला राना, शारदा खनाल, सरिता श्रीस जस्ता युवा पुस्ताका सहित्यकर्मिले ढुक्कसँग नथियाका कथावस्तुलाई केलाउँदै बाेले ।

पाका पुस्ताहरूले उनीहरूकाे प्रशंसा नगरी बस्न सकेनन् । पत्रकार इन्दिरा अर्यालको प्रस्तुति शानदार थियाे । पत्रकारितामा पाेख्त इन्दिराले उपन्यास र कथा वस्तुलाई अझ प्रस्ट पारिन । क्यानन उच्च मा वि का प्रचार्यले उपन्यासका सैद्धािन्तिक पक्ष र अाफ्नाे अनुभूति राखे । कवि गिरि श्रीस मगरकाे बहुअायमामिक चिरफारले हल पिनड्रप साइलेन्समा परिणत भयाे । प्रकाशक भुपेन्द्र पनि बडाे प्रशन्न मुद्रामा बाेले । आफूलाई अझ जिम्मेवार बनेर प्रकाशन जगतमा लाग्नु पर्ने प्रेरणा मिलेकाे भाव व्यक्त गरे ।

अन्तिममा बोलिन लेखक सरस्वती प्रतीक्षा । सहभागी उनैकाे प्रतीक्षामा समयकाे प्रवाह नगरी बसैकै थिए । उनले बुटवल साहित्यिक हरियाली भएकाे कुरा बताउँदै अाफ्नाे उपन्यासलाई यति मिहिन ढङ्गले केस्रा केस्रा केलाएकाे भन्दै बुटवलकाे पाठकीय चेतलाई नमन गरिन र पाठकमा उठ्ने विविध प्रश्नप्रति अाफ्नाे स्विकाराेक्ति व्यक्त गरिन् ।