ईश्वर पोखरेल र योगेश भट्टराइबीच गोप्य भेटपछि नेपाल समुहमा नाटकीय परिवर्तन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

ईश्वर पोखरेल र योगेश भट्टराइबीच गोप्य भेटपछि नेपाल समुहमा नाटकीय परिवर्तन



काठमाडौँ- नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र माधव नेपाल समूहका नेता योगेश भट्टराइबीच गोप्य भेट भएपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा नाटकीय परिवर्तन आएको छ । उनीहरूबीच भएको गोप्य छलफलपछि नेपाल समुहले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको एमाले नेपाल-खनाल समूहका नेता योगश भट्टराईले एक अनलाइनलाई बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाल समुहको निर्णय भएको छ । सबै सांसदले मत दिने उनको भनाई छ ।

बुधबार राती मात्रै एमाले ओली पक्षका नेता पोखरेल र नेपाल समुहका नेता भट्टराईबीच गोप्य भेट भएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धनमा नेता नेपाल नै सहभागी भैरहेका बेला यस्तो निर्णय आउनु आश्चर्य नै बनेको छ ।

चर्किएको विवादकाबीच ओली र नेपालबीच पछिल्लो समय टेलिफोन संवाद भएपनि कुराकानी भने सौहार्दपुर्ण नबनेको बताइएको छ । दुई पटक भेटवार्ता भएपनि उनीहरूबीचको छलफल सकारत्मक दिशामा जान सकेको थिएन । नेपाल समुहले फागुन २८ गतेको निर्णय सच्चाउनुपर्ने अडान राख्दै आएका थिए ।

यसअघि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल खनाल समूहका २७ सांसदलाई स्पष्टिकरण सोधेका थिए ।

एमाले कर्णाली प्रदेशको संसदीय दलको निर्णय विपरित नेपाल पक्षका कर्णालीका सांसदले फ्लो क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहिलाई विश्वासको मत दिएका थिए । लुम्बिनी प्रदेशमा नेपाल पक्षका सांसदले ओली पक्षका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका थिए ।