भारतीय सेना प्रमुखको टिप्पणीबारे नारायणकाजी फायर
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ भारतीय सेनाका प्रमुखले लिपुलेक विवादबारे गरेको टिप्पणीप्रति फायर भएका छन् ।
श्रेष्ठले भारतीय सेनाका प्रमुखले दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताएका छन । भारतीय सेनाका प्रमुखले नेपाल चीनको कुरा सुनेर भारतविरोधी भएको आरोप लगाएकोप्रति उनि आक्रोशित बनेका हुन् ।
शुक्रबार लिपुलेक विवादका बिषयमा भारतीय सेनाका प्रमुख जनरल मनोज नरवणेले नेपाललाई कसैले उचालिरहेको दाबी गरेका थिए ।
नेकपा प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नेपालको धारणामा भारतीय सेना प्रमुखले आफ्नो टिप्पणी सच्याउनु पर्ने उल्लेख गरेका हुन् ।
भारतले धार्चुलाबाट तिब्बत जोड्नका लागि लिपुलेक हुँदै बनाएको बाटो अस्वीकार्य रहेको बताउँदै श्रेष्ठले कुनै पनि हालतमा नेपाली भूमिमाथिको अतिक्रमण स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
भारतीय सेनाका प्रमुख नरवणेले शुक्रबार भनेका थिए, ‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन् । त्यसबारे त कुनै विवाद नै छैन । हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ। त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन ।’