बलात्कारीले भोज गरे, अनि पीडितले घर छाडिन - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बलात्कारीले भोज गरे, अनि पीडितले घर छाडिन



काठमाडौं- ‘म जन्मिँदा हाम्रो घरको आर्थिक अवस्था अहिलेको जस्तै हुन्थ्यो भने अब्बाले मलाई स्कुल पठाउनुहुन्थ्यो,’ घरभन्दा निकै पर काठमाडौं सहरमा बसेर बुबाको न्यानो मायाबारे सुनाउँदा उनको आँखाबाट तातो आँसु बगिरहन्छ।

त्यतिखेरको अवस्था राम्रो थिएन, घरकी जेठी छोरी उनले पढ्न पाइनन् । नेपालगन्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम) को पढ्ने रहर त्यत्तिकै हरायो।

उनीमुनिका बहिनी र भाइ त अहिले स्कुल जान्छन् । उमेरले १८ वर्ष टेक्दाटेक्दै चार वर्षअघि उनको वनघुस्रामै बिहे भयो। ‘अगलबगलमै छ मेरो माइती र घर,’ नग्मा सुनाउँछिन् ।

गत कात्तिक १३ गते नग्मा आँखा जँचाउन श्रीमान्सँगै फुलटेक्रा आँखा अस्पताल पुगिन् । दिउँसो १ बजेतिर आँखा जाँचिसकेपछि उनका श्रीमान् नेपालगन्ज गए, उनी घर । अस्पताल जाँदा लगाएको बुर्का खोलिसकेकी पनि थिइनन् ।

दुई जना चिनजानकै मान्छे उनको कोठाभित्र छिरे । उनी घरमा कोही पनि छैनन्, किन आएको भनेर सोध्दैथिइन् । ती दुई पुरुषको जवाफ आइहाल्यो, ‘कोही नभएकाले त हामी आएका हौं ।’

स्थानीय दुई पुरुषहरू निजामुद्दिन साई र मुबारक नाउले घरमा भएको सबै गरगहना र नगद मागे । नदिए जे पनि गर्न सक्ने धम्की दिए ।

उनले दराजमा भएको नगद र गरगहना सुम्पिइन् । उनीहरूले मोटरसाइकलको बीचमा नग्मालाई राखे । पिप्रहवा गाउँ हुँदै रुपैडिया र रुपैडियाबाट अरू दुई पुरुषले दिल्ली पुर्‍याए ।

रुपैडिया हुँदै दिल्ली पुग्दासम्मको घटना उनको स्मरणमा छैन । किनभने उनीहरूले दिएको बिस्कुट र जुस खाएपछि नग्मा बेहोस भएकी थिइन् । उनी जब होसमा आइन्, ती दुई पुरुषले आफूलाई निर्वस्त्र पारेर खिचेको भिडियो देखिन् ।

आफूहरूले भनेझैं नगरे भिडियो सार्वजनिक गरिदिने धम्की ती पुरुषहरूले दिइरहेका थिए । नग्मालाई ‘इज्जत’ को डर लाग्यो । उनी ती पुरुषले जसोजसो भन्छन्, त्यसै गर्दै गइन् ।

त्यतिन्जेलसम्म नग्मालाई उनका गाउँले निजामुद्दिन र मुबारकले एक लाख भारतीय रुपैयाँमा बेचिसकेका थिए ।

ती अन्जान दुई पुरुषले उनलाई एकजना महिलामात्रै भएको नयाँदिल्लीको एउटा कोठामा पुर्‍याए । पालैपालो बलात्कार गरे । त्यतिखेर उनीहरूले नजामुद्दिनसँग गरेको कुराकानी अहिले पनि उनको दिमागमा झनझनाइरहन्छ । ती दुई पुरुषले उनलाई कोठामै छाडे, बाहिरिए ।

सायद नग्मा यही मौकाको प्रतीक्षामा थिइन्, सायद ‘अल्लाह’ उनकै वरिपरि थिए । उनले ती महिलालाई हारगुहार गरेर मोबाइल मागिन् र घरमा फोन गरिन् ।

उनको ‘अब्बा’ सँग कुरा भयो । अब्बाले दिल्लीमै रहेका आफन्तलाई फोन गरे । उनी दिल्ली पुगेको चार दिनपछि जिन्दगीको सबैभन्दा कठिन ठक्कर खाएर कात्तिक १७ गते वनघुस्रास्थित घरमा फर्किइन् ।

यता उनका अम्मीअब्बा, भाइबहिनी, श्रीमान् र सासूससुराको बेचैनी उनी फर्किएपछि कम भयो । गाउँलेले प्रहरीमा जाहेरी दिन प्रेरित गरे । परिवारले न्यायको बाटो खोज्यो, कात्तिक १८ गते उजुरी बोकेर यो परिवार जिल्ला प्रहरी कार्यालय बाँके पुग्यो ।

उनलाई बेचेर गाउँ फर्किवरी निर्बाध घुमिरहेका निजामुद्दिन र मुबारकलाई प्रहरीले नियन्त्रणमा लियो । नग्माको हुटहुटी शान्त भयो । उजुरी बोकेर उनीहरू जिल्ला अदालत पुगे।

नग्मा र उनको परिवारलाई अदालतमाथि भरोसा बढिरहेको थियो। कात्तिक १३ देखि १७ गतेसम्मको त्यो अँध्यारो दिन बिर्सिन नग्मालाई परिवारका सदस्यहरूले भरपुर साथ दिइरहेका थिए ।

घटनाको मिसिल र पीडकको अपराधलाई आधार मान्ने हो भने यो कम्तीमा १५ वर्ष जेल सजाय हुने घटना हो । तर जिल्ला अदालतको आदेशविरुद्ध पीडक पक्ष उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा पुग्यो ।

उच्च अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा न्यौपाने र ऋषिप्रसाद अधिकारीले जिल्ला अदालतको आदेशको कैफियत पनि मागेका हुन् ।

घटना पुष्टि गर्ने यथेष्ट प्रमाण हुँदाहुँदै पनि पुस १० गतेको उनीहरूको इजलासले पीडकलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश नमिलेको भन्दै बदर गर्ने आदेश गर्‍यो।

निजामुद्दिन र मुबारक एक एक लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भए।

त्यो रात उनीहरूको गाउँमा भोज नै चल्यो । ‘३० किलो खसीको मासु लगेका थिए, चोकचोक, बाटोबाटोमा मिठाई बाँड्दै हिँडिरहेका थिए,’ नग्मा भन्छिन्, ‘त्यही दिनदेखि म घरमा गएकी छैन ।’

पुस १० गतेदेखि नग्मा घर फर्केर गएकी छैनन् । इन्द्रगाउँस्थित मामाको घरैबाट उनी उच्च अदालतको आदेश बदर गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिन काठमाडौं आइपुगेकी छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

एक होटलमा बसिरहेका उनीहरूका तर्फबाट बुधबार सर्वोच्चमा निवेदन दिइँदै छ।

सानीआमा, माइजू र काकासहित काठमाडौं उत्रिएकी उनलाई अम्मी र अब्बाको बहुत याद आइरहेको छ । आफ्ना साना बहिनीहरू त्यसैगरी अपहरणमा पर्छन् कि भन्ने चिन्ताले सताइरहेको छ । ‘डराएका बहिनीहरू स्कुल जान पनि मान्दैनन्,’ नग्मा भन्छिन्।

दुःख त नग्मालाई श्रीमान्सँग पनि लागेको छ किनभने उच्च अदालतको आदेश आउनेबित्तिकै उनी टाढिए । गाउँ छउन्जेल के छ कसो छ भनेर सोध्दा पनि सोधेनन्, काठमाडौं आएपछि फोनसम्म पनि गरेका छैनन्।

ठ्याक्कै गाउँले र छरछिमेकीझैं गरी टाढिए उनका श्रीमान् । ‘मैले जानाजान केही गल्ती गरेकी छैन,’ नग्मा सुस्ताउँछिन्, ‘मेरो मन त पहिले जस्तो थियो त्यस्तै नै छ, थाहा छैन उसको दिलमा के छ!’