नवलपरासीमा कोरोनाका जस्तै लक्षण देखिएका विरामी अलपत्र: स्वास्थ्यकर्मीले गरे तिरस्कार
नवलपरासी- नवलपरासीका एक जना कोरोनाका जस्तै लक्षण देखिएका बिरामीलाई अस्पतालले भर्ना गर्ने नमानेपछि अलपत्र भएको बताइएको छ
कोरोनाको संक्रमण भएको आशंका गरिएका ति बिरामीलाई अस्पतालले भर्ना लिन नमानेको कारण बिरामी र उनको परिवार अलपत्र परेको बताइएको छ ।
स्वास्थ्यकर्मीहरुले समेत बिरामीलाई छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् । चार वटा अस्पतालमा जाँदासमेत कसैले उनलाई भर्ना गरेका छैनन् ।
तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवकलाई परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन् ।
उनको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बिरामी ट्रक चालक हुन् । सुरुमा खोकी र ज्वरो आएको उनलाई परासीको एक क्लिनिक पुर्याइएको र त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।
प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाएकोमा कोरोनाको लक्षण भन्दै काठमाडौं पठाएको थियो ।
तीन दिनसम्म अस्पताल खोज्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा पुर्याएका थिए ।
उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने सोचले पुन हिजो परासी अस्पताल ल्याएका थिए ।
सरकारले हरेक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरेको जनाए पनि बिरामीलाई त्यहाँ राखेर निगरानी गर्नुको सट्टा गैर जिम्मेवार तरिकाले रिफर गर्दै गएको बिरामीको आफन्तले गुनासो गरेका छन् ।