कोरोना सङ्क्रमण मोटोपन भएकाहरूलाई सबैभन्दा खतरा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कोरोना सङ्क्रमण मोटोपन भएकाहरूलाई सबैभन्दा खतरा



एजेन्सी- कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना हुने र गम्भीर बिरामीसँग सम्बन्धित सबैभन्दा ठूलो जोखिम कारकमा मोटोपन एक भएको शोधकर्ताहरूले बताएका छन्।

अमेरिकाको न्युयोर्कमा चार हजारभन्दा बढी बिरामीमा गरिएको अध्ययनअनुसार मोटोपन स्वास्थ्य खराब बन्‍नुको एक मुख्य कारण हो, जसले कोरोना भाइरस संक्रमणमा सहयोगी भूमिका वहन गर्छ।

मोटोपनका सन्दर्भमा हालसम्म स्वास्थ्यकर्मीहरू दिँदै आएको चेतावनी र सल्लाहलाई यस शोधले पनि प्रमाणित गरेको छ। फ्रान्सको साइन्टिफिक काउन्सिलका प्रमुख जाँ फ्रान्सिस डेल्फ्रेसीले पनि मोटोपनको समस्या भएका व्यक्तिले कोभिड-१९ का सन्दर्भमा बढी सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिए।

‘अमेरिकामा रहेका मेरा साथीहरू पनि मोटोपनको समस्याबाट पीडित छन् र उनीहरूको चिन्ता लागिरहेको छ,’ उनले भने, ‘मोटोपनको समस्या यतिबेला बढी परेशानीको कारण बनेको छ।’

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि ‘बडी पास इन्डेक्स’ ४० भन्दा बढी भएका मानिसमा कोभिड-१९ को बिमारी बढी देखिएको बताएको छ।

न्युयोर्क युनिभर्सिटीको ग्रोसम्यान स्कुल अफ मेडिसिनमका प्राध्यापक क्रिस्टोफर पेट्रिली नेतृत्वको टिमले पछिल्लो अध्ययन गरेको हो। गम्भीर बिमारी र अस्पताल भर्ना सम्बन्धी समस्यामा केन्द्रित रहेर यो अध्ययन गरिएको थियो।

अध्ययनमा सामेल चार हजार तीन जना बिरामीमा कोभिड-१९ पोजिटिभ पाइएको थियो। तीमध्ये एक हजार नौ सय ९९ लाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने थियो भने ६ सय ५० जनालाई सघन उपचारको आवश्यकता थियो।

तीमध्ये कतिपयको मृत्यु भयो भने कतिपयलाई घरमै हेरचाह गर्न अस्पतालबाट बिदा दिइयो।

अध्ययनका क्रममा ज्येष्ठ नागरिक, मोटोपन भएका व्यक्ति, मुटुका बिरामी र मिर्गौला रोगी कोभिड-१९ को बढी जोखिममा परेको पाइएको थियो।

‘गम्भीर प्रकृतिका बिरामीलाई तत्काल आईसीयूमा राख्नुपर्ने अवस्था देखिएको थियो,’ अध्ययन रिपोर्टमा भनिएको छ, ‘मुटु र फोक्सासम्बन्धी रोगभन्दा बढी मोटोपनको समस्यो कोभिड-१९ का लागि बढी जोखिमपूर्ण पाइएको छ।’

बेलायतस्थित युनिभर्सिटी अफ नटिङ्‍घमको सेन्टर फर बायोमोलेक्युलर साइन्सेसका निर्देशक इयान हलले न्युजविकसँग भने, ‘यो अध्ययन मोटोपनका सन्दर्भमा एक महत्वपूर्ण विश्लेषण हो। मोटोपन हरेक रोगका लागि जोखिमको प्रमुख कारण हो।’