मोदीको नेपाल आउने कार्यक्रम रद्द - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

मोदीको नेपाल आउने कार्यक्रम रद्द



काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउने भएका छन् । चैत तेस्रो साताका लागि तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रममा मोदी नआउने भएका हुन् ।

सगरमाथा संवादका लागि नेपालका तर्फबाट मोदीलाई निमन्त्रणा गरिएको थियो । तर, उनले नेपालको राजकीय भ्रमण गर्ने चाहना राखेपछि संवादमा सहभागी नहुने स्रोतले बताएको छ ।

पछिल्लो समय नरेन्द्र मोदी नेपाल आउने चर्चा चलिरहेको थियो । विशेषगरी सगरमाथा संवादको लागि मोदी आउने भनिएपछि त्यसको छुट्टै रौनकता हुने देखिएको थियो ।

संवादमा मोदी सहभागी नहुने भएपछि भारतबाट सकेसम्म उच्चस्तरकै सहभागिताका लागि प्रयास भैरहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्रीको विदेश भ्रमणको निर्णय विभिन्न प्रक्रियापछि निर्धारण गरिने भएकाले उपयुक्त समयमा नेपाल आउने समय तय गरिने बताइएको छ ।

फागुन लागेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले भारत भ्रमण गर्ने निधो भइसकेकाले त्यसबारेमा आवश्यक तयारी भइरहेको छ । ट्रम्पको भारत भ्रमण लगत्तै मोदी बंगलादेश जाने तयारीमा छन् ।

बंगलादेशका पूर्वराष्ट्रपति मुजिबुर रहमानको सयौं जन्मजयन्तीमा आयोजना हुने विशेष कार्यक्रमका मुख्यवक्ताको रूपमा मोदी त्यहाँ जान लागेका हुन् ।

उक्त कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुनेछन् । सोही जमघटमा मन्त्री ज्ञवालीले विशेष पहल गरेमात्र मोदीको नेपाल भ्रमण संभावना रहने परराष्ट्र अधिकारी बताउँछन् ।

नेपालले सगरमाथा संवादमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदीसहित सार्कका सबै राष्ट्र एवं सरकार प्रमुखका साथै अन्य मित्रराष्ट्रलाई पनि निमन्त्रणा गरेको छ ।