मेयर विद्यासुन्दर वार्ता छाडेर बीचमै भागेपछि… - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मेयर विद्यासुन्दर वार्ता छाडेर बीचमै भागेपछि…



काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर अझै केहिदिन नउठ्ने भएको छ । फोहर फाल्ने स्थान नुवाकोटको सिसडोलका बासिन्दाहरुले आफ्ना माग सम्वोधन गरेपछि मात्र फोहर फाल्न दिने अडान लिएका छन् ।

पटक पटक महानगरले सम्झौता लागु नगरेको भन्दै सिसडोलबासीले फोहर फाल्न अवरोध गरेका छन् । उपत्यकाभरीको फोहोर आफ्नो दैलोमा फ्याँक्ने तर मागहरु भने पूरा नगर्ने नगरपालीकाको पुरानै संस्कारबाट उनीहरू सचेत छन् ।

यसपटक त्यहाँका स्थानीयहरू उधारो सहमति नगर्ने अडानमा छन् । समस्यालाई वार्ताद्वारा समाधान गर्न बुधबार र विहीबार लगातार वार्ता भयो । समस्या समाधान उन्मुख हुँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रवैयाका कारण सहमति हुन सकेन ।

यसले काठमाडौं उपत्यकाको फोहोर अझै केही दिन नउठ्ने भएको हो । विहीबार महानगर प्रमुख विद्यासुन्दर शाक्य वार्ताको बीचमै उठेर हिँडेपछि वार्ता निष्कर्षमा पुग्न सकेन । फोहोरमैला प्रभावित शिक्षक व्यवस्थापन संघर्षष समितिका संयोजक अनिश शर्मा ढुंगानाका अनुसार शुक्रबारको वार्ता सकरात्मक बने पनि आन्दोलन जारी राख्ने स्थानीयको तयारी छ ।

महानगर प्रवक्ता ईश्वरमान डंगोलले सिसडोलबासीसँग वृहत् छलफल भए पनि सहमति हुन नसकेको स्वीकारे । उनले मेयर शाक्य अस्वस्थताको कारण उपचारको लागि निस्किएको बताए । तर स्थानीयले भने मेयरको अनुपस्थितिमा वार्ता हुन नसक्ने बताएपछि वार्ता स्थगित भएको हो । उपत्यकाको फोहोर चैत १३ गतेदेखि उठ्न सकेको छैन । उपत्यकाको १८ स्थानीय तहको फोहोर १३ वर्षदेखि सिसडोलमा बिसर्जन गरिँदै आइएको छ ।

सिसडोलबासीले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक बिस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्नेलगायत यसअघि भएका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।