एमसीसी सम्झौता रोक्न ९ दल एकमत, सभामुखलाई बुझाए ज्ञापनपत्र - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

एमसीसी सम्झौता रोक्न ९ दल एकमत, सभामुखलाई बुझाए ज्ञापनपत्र



काठमाडौं- एमसीसी सम्झौता रोक्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई विभिन्न ९ राजनीतिक दलले ज्ञापनपत्र बुझाएका छन्।

सत्तारुढ दलभित्रै एससीसी प्रस्तावमाथि चर्को विवाद भैरहेका बेला साना दलले ज्ञापन पत्र बुझाएका हुन् । प्रधानमन्त्री केपी ओली सम्झौता अनुमोदन गर्न हतारिए पनि पार्टीभित्र यसका लागि अझै साझा सहमति बन्न सकिरहेको छैन।

यसै परिस्थितिमा मंगलबार दिउँसो प्रतिनिधिसभाका सभामुख सापकोटालाई ९ दलको तर्फबाट सीपी गजुरेलले ज्ञापनपत्र बुझाएका हुन्। ९ दलको विज्ञप्तिमा एमसीसी राष्ट्रघाती भएकाले त्यसलाई स्वीकार गर्नु नहुनेमा जोड दिइएको छ ।

पार्टीभित्र सहमतिको खोजीका लागि नेकपाले बनाएको अध्ययन कार्यदलले निर्धारित समयभित्र काम सक्न नसक्ने भन्दै थप समय माग गर्ने भएपछि सदनबाट यो सम्झौता अनुमोदन हुन थप समय लाग्ने देखिएको हो।

नेकपाले एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न पार्टीभित्रै अध्ययन कार्यदल गठन गरेको थियो।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्धय भीम रावल र परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली कार्यदलका सदस्य छन्।

१९ माघमा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले यस्तो कार्यदल गठन गरेको थियो। १० दिनभित्र एमसीसी सम्झौताका विषयमा तथ्य–सत्य अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि पार्टीले निर्णय लिने नेकपाले बताएको थियो।

कार्यदलले उक्त समयावधिमा काम गर्न नभ्याउने भन्दै केही दिन कार्यदलको म्याद थप गर्न माग गर्ने तयारी गरेको छ।

नेकपा सचिवालय बैठक आइतबार नै बस्ने भने पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अस्वस्थ्ताका कारण बैठक स्थगित हुन पुगेको थियो। अर्को बैठकको मिति तय भइसकेको छैन।