ओलीको राष्ट्रवाद: महाकाली सन्धि देखि एमसीसी सम्म
काठमाडौं- ‘हाम्रा अध्यक्ष केपी ओलीजी भारतले लगाएको नाकाबन्दीको बेला राष्ट्रवादको नारा लगाएर सत्ताको कुर्सीमा उक्लिए । अब अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसनले उनलाई सत्ताको कुर्सीबाट ओराल्न पनि सक्छ,’ यो भनाई हो सत्तारुढ नेकपाका एक केन्द्रीय सदस्यको ।
नेकपाको जारी केन्द्रीय समिति बैठकमा ती केन्द्रीय सदस्य मात्रै होइन, अधिकांशले एमसीसीको जमेर विरोध गरिरहेका छन् । ‘महाकाली सन्धि बिर्सिएर जनताले मत दिए, अब एमसीसी बिर्सिनेछैनन्,’ अर्का केन्द्रीय सदस्यले भने, ‘वास्तवमा नक्कली राष्ट्रवाद लामो समय नटिक्ने रहेछ ।’ ओलीले बैठकमा २ घण्टा लामो भाषण दिइसकेपछि केन्द्रीय सदस्यहरुको यस्तो प्रतिक्रियाले नेकपाभित्र ओलीको पडक कमजोर बनिरहेको संकेत गर्छ ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डले पार्टीभित्र ओलीको एकछत्र राजको अन्त्य गर्ने सुनौलो अवसरको रुपमा एमसीसीलाई सदुपयोग गरे । उनले पार्टीभित्र गज्जबको ध्रुवीकरण गरिरहेका छन् जसले ओलीलाई उठि सुख न बसी सुखको अवस्थामा पुर्याइदिएको छ ।
सरकारको नेतृत्व गरिरहेको हुनाले एमसीसी जसरी पनि संसदबाट पारित गर्नुपर्ने अवस्थामा ओली छन् । तर, यो निर्णयका लागि पार्टीभित्रको प्रतिपक्ष शक्तिशाली बाधक बन्ने निश्चित देखिएको छ ।
यदि बलजफ्ती यसलाई संसदबाट पारित गरिहाले पनि सडकमा टायर बाल्ने र ओलीको पुत्ला जलाउने अरु प्रतिपक्षी नभएर पार्टीभित्रैको प्रतिपक्षी बन्ने सम्भावना बढ्दै गएको छ ।
शक्तिमा हुँदा पार्टीभित्रकै कमजोर आवाजलाई दबाउने ओली प्रवृत्तिबाट वाक्क दिक्क भएका माधव नेपाल लगायतका समूहहरुले पनि यतिबेला ओलीसँग बदला लिन पाएका छन् । यी सबै सम्भावनाहरुलाई एउटा शक्तिमा रुपान्तरण गर्ने अवसर पाएका छन् ओलीले ।
स्वास्थ कमजोर गएको बेला सत्ता शक्ति छिन्दा व्यक्तिको निजी जिन्दगी पनि प्रभावित हुन्छ । कुनैबेला शान्ति प्रक्रियाको ऐतिहासिक नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाको राष्ट्रपति बन्ने चाहनालाई प्रचण्डले पूरा गरिदिएनन् ।
जसले गर्दा कोइराला विक्षिप्त बनेका थिए र धोकाको महसुस गरेका थिए । कोइरालाको निधनलाई कतिपयले यही घटनासँग जोडेर हेर्ने गरेका छन् । अनुमान गरिन्छ- कोइराला राष्ट्रपति बनेका भए अलि लामो समय बाँच्थे कि !
अहिले यता प्रधानमन्त्री ओलीको पनि स्वास्थ्य अवस्था कमजोर छ । उनलाई पार्टी सत्ता र राज्य सत्तामा कमजोर बनाउन सके उनको स्वास्थ्य अवस्थालाई पनि प्रभावित पार्न सकिने सोच कतिपय नेताहरुको रहेको स्रोत बताउँछ ।
‘फलाम काट्न फलाम नै चाहिन्छ भनेजस्तै नक्कली राष्ट्रवादलाई पराजित गर्न नक्कली राष्ट्रवादकै हतियार चलाउनुपर्ने रहेछ,’ प्रचण्ड निकट एक नेता भन्छन्, ‘एमसीसी अब त्यही अस्त्र बन्छ ।’
हालसालै बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले प्रष्ट धारणा बनाउन नसकेपछि सचिवालयलाई निर्णय गर्ने अधिकार दिएको थियो । सचिवालयले पनि लामो समयसम्म यसबारे प्रष्ट धारणा बनाउन नसकेपछि पार्टीको केन्द्रीय समिति बैठकमा एमसीसीबारे जमेर छलफल भएको छ । तर, स्थायी समिति बैठकमा जस्तै केन्द्रीय कमिटीमा पनि मत बाँझिएको छ । अर्थात एमसीसीको विरुद्धमा केन्द्रीय समितिमा बलियो ध्रुवीकरण बनिरहेको छ ।
त्यसैले उनीहरुले विज्ञ समूह बनाएर यसबारे प्रष्ट हुनुपर्ने धारणा राख्दै आएका छन् । नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा सहभागी अधिकांश नेताहरुले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै पार्टी कार्यकर्तादेखि जनतासम्म सबैले बुझ्नपर्ने धारणा राखेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने अधिकांश समूहका नेताहरुले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने नेतृत्वलाई रिपोर्टिङ गरेका थिए ।
एमसीसीबारे कुन समुहको के धारणा ?
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली पेश गरेको राजनीतिक र महासचिव विष्णुले पेश गरेको सांगठानिक र विधान संशोधन संशोधनमाथि समुहगत छलफल गरेका थिए ।
शुक्रबारदेखि टोली नेताले समूहगत छलफलमा उठेका विषयहरु बैठकमा राख्नेक्रम जारी छ । १५ समूहमध्ये आज ४ वटा समूहका टोली नेताले समूहगत छलफलमा ११६ जनाले उठाएका विषयबारे नेतृत्वलाई रिपोर्टिङ गरेका थिए ।
खासगरी अमेरिकी सहयोग एमसीसीको बारेमा ४ वटै समूहका नेताहरुले नेतृत्वलाई दरोसँग कुरा राखेका थिए । आज दिनानाथ शर्मा (६) नम्बर, भगवति चौधरी (९) नम्बर, कमला रोका (२) र लेखनाथ न्योपाने (१५) नम्बरका टोली नेताले समूहगत छलफलमा उठेका विषयहरु राखेका थिए । एमसीसीबारे यस्तो छ धारणा-
दिनानाथ शर्मा- समूह नं. ६
बिहीबार समूहगत छलफल गरेपछि नेकपा नेता दिनानाथ शर्माले एमसीसी पास गर्नुपर्ने बताएका थिए । शर्माको समूहले एमसीसीले नेपालको विकासमा ठूलो टेवा पुग्ने भन्दै पास गर्न ढिलाई गर्न नहुने बैठकमा बताएको थियो ।
भगवती चौधरी- समूह नं. ९
नेकपा केन्द्रीय सदस्य भगवती चौधरीको समूहले संविधान र कानुन विपरित अमेरिकी सहयोग कार्यक्रम एमसीसी पास गर्न नहुने बताएको थियो ।
कमला रोका- समूह नं. २
१५ वटा समूहमध्ये २ नम्बर समूहले एमसीसीबारे विज्ञ समूह निर्माण गरेर जनता र कार्यकर्तालाई प्रष्ट पारेपछि मात्र पास गर्नुपर्ने बताएको थियो । हतारमा पास गर्दा पार्टीलाई उल्टै क्षति हुने यो समूहले बताएको थियो ।
लेखनाथ न्यौपाने- समूह नं. १५
लेखनाथ न्यौपाने रहेको समूहका केन्द्रीय सदस्यले नेपाललाई एमसीसी कार्यक्रम आवश्यक छ कि छैन त्यसको मुल्याङकन गरेर र अहिले भएका बुँदाहरुलाई संशोधन गरेर पास गर्न सकिने मत राखेको थियो ।
अहिलेकै अवस्थामा पास गरे पार्टी झन विवादको भुमरीमा फस्ने उनीहरुको धारणा थियो । विश्वमा विकासको गति तीव्र रुपमा अघि बढिरहेको भन्दै यसबारे प्रष्ट धारणा बनाउन पार्टी नेतृत्वलाई यो समूहले बैठकमा रिपोर्टिङ गरेको थियो ।
१५ वटामध्ये बाँकी रहेका ११ वटा समूहका टोली नेताले शनिबार नेतृत्वसामु आफ्नो कुरा राख्दैछन् । त्यसपछि ओली र प्रचण्डले जवाफ दिने कार्यक्रम छ । आजको बैठकमा प्रधानमन्त्री ओली समेत रहेका ओली उपस्थित थिएनन् । बैठकको अध्यक्ष प्रचण्डले गरेका थिए ।