सांसद पद खोसिएका चार मन्त्रीको मन्त्री पद के हुन्छ ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सांसद पद खोसिएका चार मन्त्रीको मन्त्री पद के हुन्छ ?



काठमाडौँ- बिहीबारको प्रतिनिधि सभा बैठकले पार्टीबाट कारबाहीमा परेका चार सांसदलाई पद मुक्त गरेको छ ।

सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाली राजनीतिमा एउटा छुट्टै अध्याएको सुरुआत भएको थियो ।

त्यसलगत्तै माओवादी केन्द्रका केही सांसदहरु नेकपा एमालेतर्फ नै लागे । उनीहरू केहीको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पद जोगाए भने केहीलाई मन्त्री बनाए ।

अहिले उनीहरूको सांसद पद नै गएको छ । माओवादी छाडेर एमालेतर्फ लागेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको पद गएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र लेखेर उनीहरूले दल त्याग गरेको जानकारी गराइसकेका छन् ।

सोही जानकारीको आधारमा प्रतिनिधि सभाको बिहीबारको बैठकमा कारबाहीमा परेका चार सांसद पद मुक्त भएको जानकारी गराएको हो ।

गत सोमबार संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई चार जना सांसदलाई कारबाही गरिएको जानकारी गराएका थिए ।

उनीहरूलाई पुन नियुक्ति नगरे मन्त्री पद पनि जानेछ । सभामुखले माओवादी केन्द्रले पठाएको पत्र अनुसार उनीहरूले दल त्याग गरेको सूचना सुनाएर पढेर सुनाएका थिए ।

मन्त्री पद के हुन्छ ?

सांसद पद गएसँगै उनीहरुको मन्त्री पदसमेत समाप्त भएको छ । प्रधानमन्त्रीले उनीहरुलाई पुनर्नियुक्ति नदिए उनीहरु मन्त्री पदमा रहने छैनन् ।

पुनर्नियुक्ति भएमा बढीमा ६ महिनासम्म उनीहरुले मन्त्री पदमा बस्न पाउनेछन् । त्यस अवधिमै उनीहरु सांसद भएमा मन्त्री पदमा निरन्तरता पाउन सक्नेछन् ।