मालदार मन्त्रालय पाउने भएपछि टोपबहादुरले छाडे प्रचण्डको साथ - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

मालदार मन्त्रालय पाउने भएपछि टोपबहादुरले छाडे प्रचण्डको साथ



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सहभागी अधिकांश सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि नेपाली राजनीतिको लय बदलिने संकेत देखिएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद र प्रधानमन्त्री ओलीले मनोमानी ढंगले पार्टी र सरकार चलाएको भन्दै पार्टीभित्रै बहुमत सदस्यले प्रधानमन्त्री ओलीले नेतृत्व छाड्नुपर्ने अडानका साथ नेताहरू दौडधुन छन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ स्वयमले पार्टी गम्भिर संकटको मोडमा उभिएको टिप्पणी गरेसँगै नेकपाभित्र कति विवाद छ भन्ने कुरा प्रष्टै हुन्छ । गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटीको पाँचौ बैठकको पहिलो दिनमै अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

यसैबीच संसद अधिवेशन अन्त्य गर्नको लागि मन्त्रिपरिषदको बैठक द्रुत गतिमा सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेका थिए । उक्त मन्त्रिपरिषद बैठकमा पूर्व माओवादी केन्द्र खेमाका स्थायी समिति सदस्य रहेका मन्त्रीहरुको समेत सहभागिता थिएनन् । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

नेकपाभित्र सबै मोर्चामा ओली अल्मपतमा रहेको बताइएको छ । तर, उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउने भए संसदीय दलमा बहुमत पुर्याएर देखाउनसमेत दाहाल–नेपाल समूहलाई यसअघि नै चूनौति दिईसकेका छन् ।

गत बैशाखमा नै ओली समूह र दाहाल–नेपाल समूहले आ–आफ्नो पक्षमा बहुमत पुर्याउनेगरि कसरत गरेका थिए । तर, अन्तिममा उपाध्यक्ष गौतमले ओलीलाई साथ दिँदा उनको राजीनामा टरेको थियो । तर, अहिले परिस्थिति अर्कै छ ।

उनको पक्षमा सचिवालयमा ईश्वर पोखरेल र विष्णु पौडेलमात्रै छन् । उपाध्यक्ष गौतम र गृहमन्त्रीसमेत रहेका बादलले पनि दाहाल–नेपाललाई साथ दिईसकेका छन् । हिजो ललितपुरमा आयोजित दाहाल–नेपालको भेलामा सहभागी भएका बादलले पहिलोपटक आफूलाई खुलाएका छन् ।

दाहालले अब पार्टी फुट्दा पूर्व एमाले र पूर्व माओवादी भएर नफुट्ने भन्दै फ्युजन हुने बताईसकेका छन् । दाहालको भनाईलाई पुष्टि गर्नेगरि पूर्व माओवादी केन्द्र खेमाका स्थायी समिति सदस्य लेखराज भट्ट ओलीको पक्षमा खुलेर उभिएका छन् । उनले बैशाखमै आफूलाई ओलीको कित्तामा उभ्याएका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता टोपबहादुर रायमाझीले पनि पछिल्लो समय प्रचण्डको साथ छोडेका छन् । रायमाझीसँगै पूर्व माओवादी खेमाका केहि स्थायी कमिटी सदस्यहरुले पनि ओलीलाई साथ् दिने हल्ला चलेको छ ।

स्रोतकाअनुसार नेता रायमाझी ओलीसँग निरन्तर सम्वाद र सम्पर्कमा छन् । बरु, उनी अध्यक्ष दाहाल निवास खुमलटार जान छोडिसकेका छन् ।

यसअघि पनि नयाँ शक्ति गठन हुँदा माओवादी केन्द्रमा राख्न प्रचण्डले निकै प्रयत्न गरेका थिए । उपप्रधानमन्त्री सहित मन्त्री पद पाएपछि प्रचण्डको साथ् नछोडेका रायमाझी अहिले भने धेरैजसो समय बालुवाटारमै भेटिने नेताहरू बताउँछन । उनको हिमचिम बालुवाटारमै बढि छ ।

रायमाझीले स्थायी कमिटी बैठकमा समेत प्रधानमन्त्री तथा अध्यक्ष ओली अल्पमतमा नभएको दाबी गर्न थालेका छन् । उनले पूर्व माओवादी केन्द्र खेमाका ७ जना र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका चार जना सदस्यहरुको स्थायी कमिटीमा ओलीलाई साथ रहने दाबी आफूनिकटका नेताहरुलाई गर्दै आएका छन् ।

स्रोतका अनुसार रायमाझीलाई ओली पक्षले उपप्रधान सहित मालदार मन्त्रालय दिने बचन दिएका छन् । अध्यादेश जारी भएपछि पनि उनले प्रचण्डलाई आफ्नो आशा नगर्न आग्रह गरेका थिए ।