महतोको झन चर्को स्वर - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

महतोको झन चर्को स्वर



काठमाडौं । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि आलोचित बनेका राजेन्द्र महतोले स्पष्टीकण दिएका छन् ।

उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट चर्को आलोचना भएको थियो । शनिबार जसपाले राखेको स्वागत कार्यक्रममा पनि उपप्रधान तगा शहरी विकासमन्त्री महतोले नेपाल बहुल राज्य नै भएको बताएका छन् ।

उनले आफ्नो अभिव्यक्तिप्रति जवाफ दिँदै भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदैन हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।

उनले यस अभिव्यक्तिमा कुनै विवाद गर्नुको कारण नभएको दावी गरेका छन् । उनले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

आफूहरुको पार्टी अधिकार, पहिचान, सुशासन र समृद्धिका लागि बनेको भन्दै उनले त्यो नहुँदासम्म आन्दोलन हुने बताए । उपप्रधानमन्त्री महतोले अघि भने, ‘संघीयता ल्याएपछि समावेशिताको प्रारम्भ भएको छ । तर पूर्णता पाएको छैन । संविधान नै अपूर्ण छ ।’

आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टजस्तो नभएको महतोले बताए । कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्नका लागि पार्टी स्थापना भएको भन्दै उनले समाजमा व्याप्त शोषण र उत्पीडन समाप्त गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

‘हाम्रो पहिलो दायित्व र रुझान भनेको पार्टीको मूल्य(मान्यता हो । हामी २४ घन्टा नै त्यसलाई याद राख्ने छौं’, महतोले भने ।