स्थायी सदस्यको लायक नभएको भन्दै रघुवीर महासेठलाई हटाउन माग
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य रघुबीर महासेठलाई हटाउन माग गरिएको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको हो ।
केन्द्रीय सदस्य श्रीप्रसाद साहले आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन माग गरेका हुन् ।
धनुषाकै नेता साहले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै दिएको निवेदनमा विधानमा स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको हुनुपर्ने महासेठको सो योग्यता नरहेको दाबी गरिएको छ ।
आफूहरुले यसअघि पनि ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको उनले बताएका छन् ।
उनको निवेदनमा भनिएको छ, ‘कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीवनमा एकपटकमात्र आठौं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो भने २ पटक मनोनितसम्म हुनुभएको हो ।
कहिँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटव्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन ।’
विधान विपरीत महासेठ स्थायी कमिटी सदस्य भएको भन्दै स्थायी कमिटी र सचिवालयका निर्णय अनुमोदन गर्नुअघि केन्द्रीय कमिटीले महासेठलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय सच्याउन उनले माग गरेका छन् ।
महासेठ एमाले माओवादी एकीकरणपछि चारजना स्थायी कमिटी सदस्य तत्कालीन एमालेबाट थपिदा बिष्णु रिमाल, रघुजी पन्त र बेदुराम भुसालसँगै थपिएका थिए ।