महामारीसँग लड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग लड्दै समाज - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

महामारीसँग लड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग लड्दै समाज



कता जाँदै छ हाम्रो समाज ? : सिभिल अस्पतालका डाक्टर र नर्स बसेको होस्टल घेराउ । डाक्टर र नर्स टोलमा बस्दा कोरोना फैलिन्छ भन्ने टोल सुधार समितिका अगुवाहरूले भिड बनाएर हुलहुज्जत गरे । संखुवासभा, विराटनगर, वीरगन्ज, चितवन र जाजरकोटमा पनि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

स्वास्थ्यकर्मीमाथि भएका शृंखलाबद्ध दुर्व्यवहार

  • संखुवासभामा क्याम्पस प्रमुखको नेतृत्वमा आइसोलेसन वार्ड तोडफोड 
  • विराटनगरमा आइसोलेसन कक्षमा डाक्टरमाथि हातपात 
  • वीरगन्जको छपकैयामा डाक्टरविरुद्ध नाराबाजी, अस्पतालमा तोडफोड 
  • चितवनको भरतपुरमा डाक्टरलाई अपहेलित गर्दै घरमा स्टिकर टाँस्ने प्रयास
  • चितवनको रत्ननगरमा स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन
  • जाजरकोटमा स्वास्थ्य केन्द्रका डाक्टरमाथि आक्रमण
  • नागढुंगामामा टोले स्वयंसेवीको गुन्डागर्दी, डाक्टरको हुर्मत लिइयो

कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ ।

चितवनका डा. विश्वबन्धु बगालेलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै राजधानीको बानेश्वरमा डाक्टर र अन्य स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ गरिएको छ । बानेश्वरको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राखिएको लर्ड बुद्ध होस्टल स्थानीयले घेराउ गरेका थिए । जब कि ती स्वास्थ्यकर्मी संक्रमित पनि होइनन् ।

‘उहाँहरू संक्रमित होइन । आइसोलेसनका लागि होस्टलमा बस्ने व्यवस्था गरिएको हो,’ अस्पतालका निर्देशक डा. दीर्घराज आरसीको प्रश्न छ, ‘संक्रमित नै भए पनि स्वास्थ्यकर्मी वा अन्य कुनै पनि नागरिकलाई त्यस्तो दुर्व्यवहार गर्न मिल्दैन । जनताले नै यस्तो अपमान गर्ने हो भने भोलि आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल कस्तो हुन्छ ?’

टोल सुधार समितिको अगुवाइमा संगठित समूहले शनिबार बिहानै होस्टल घेराउ गरेको थियो । ‘आमसर्वसाधारण पनि होइन, टोल विकास समितिको अगुवाइमा नै घेराउ गर्ने टोली आयो, मलाई दुव्र्यवहार गरियो, डाक्टरलाई तुरुन्त निकाल भनेर हुलदंगा गरे,’ होस्टल सञ्चालक रोहित रानाले सञ्चारकर्मीहरूसँग भने ।

स्वास्थ्यकर्मीहरू ४ भदौदेखि सो होस्टलमा बस्दै आएका छन् । त्यसको खबर थाहा पाएपछि टोल विकास समिति संगठित रूपमा विरोधमा उत्रिएको थियो । होस्टलमा तोडफोड हुने जोखिम बढेपछि बानेश्वरबाट प्रहरी बोलाउनुपरेको थियो । स्वास्थ्यकर्मीलाई गलहत्याउन आएका स्थानीय बासिन्दाले आफ्नो टोलको नाम भने ‘बलभद्र मार्ग’ राखेका छन् । प्रहरी आएपछि भने स्थानीय फर्किएको बच्चु विकले नयाँ पत्रिकामा लेखेका छन् ।

स्वास्थ्यकर्मी होस्टलभित्र बस्दा टोलमा कोरोना फैलिन्छ भन्ने टोलवासीहरू विरोध गर्न भने हुल बाँधेर आएका थिए । टोलीमा बालबालिका र वृद्ध मात्र होइन, युवाहरू पनि थिए । टोल सुधार समितिका अध्यक्ष सुदर्शन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएको टोलीले निषेधाज्ञा तोडेको र हुलहुज्जत गरेको प्रहरीको भनाइ छ । तर, सडकमा हिँडेका एक–दुईजनालाई उठबस खेलाउने प्रहरीले त्यत्रो हुलहुज्जत गर्नेहरूलाई भने कुनै कारबाही गरेको छैन ।

बानेश्वरको घटनामा पनि प्रहरीले छानबिन थालेको बताएको छ । ‘स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भएमा पक्राउ गरी कारबाही गरिनेछ । निषेधाज्ञा तोड्न पाइँदैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा कुनै पनि नागरिकलाई दुव्र्यवहार गर्न पाइँदैन,’ काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीले भने ।

बानेश्वर र पछिल्लो समयमा देशका विभिन्न भागमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारप्रति नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिन्ता व्यक्त गरेका छन् । ‘कोभिड उपचारमा जुटिरहेका स्वास्थ्यकर्मीप्रति सम्मान र सद्भाव झन् बढ्नुपर्ने हो, तर हामीकहाँ झन् अपमान गर्ने काम भइरहेको छ । यो निकै नै चिन्ताको विषय हो, यस्तो घटनाको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले भने ।

बानेश्वर घटना स्वास्थ्यकर्मीमाथि भएको पहिलो दुर्व्यवहार भने होइन । भरतपुरमा डाक्टरलाई अपहेलित गर्दै घरमा स्टिकर टाँस्ने प्रयास भएको थियो । भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र स्थानीयले ३० साउनमा कोरोना भाइरस संक्रमित चिकित्सकलाई अपमान गर्न खोजेका थिए ।

चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई २५ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २६ साउनमा गरिएको परीक्षणमा उनकी पत्नीमा पनि पोजेटिभ देखिएको थियो । त्यसपछि परिवारसहित भरतपुर–४ त्रिचोकको आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका उनलाई ३० साउन बिहान भने स्थानीय बासिन्दाले झन् मानसिक तनाव दिए । ‘होम आइसोलेसनमा बसिरहेको छु, तर टोल विकास समितिको टोलीले घरमा स्टिकर टाँस्न आयो,’ डा. बगालेको भनाइ छ । स्थानीय बासिन्दा ‘आइसोलेसन होम, कोरोना संक्रमित’ लेखिएको ब्यानर बोकेर डाक्टरकै घरमा टाँस्न गएका थिए ।

उनले टोल विकास समितिको टोलीलाई सम्झाउनुपरेको थियो । ‘नटाँस्नुस्, म आफैँ सुरक्षित तरिकाले बसेको छु । भित्रबाट चाबी लगाएको छ, हामी गेटबाट बाहिर नै आएका छैनौँ, आफ्नो सम्पर्कमा रहेका सबैलाई आफैँले फोन गरेर खबर गरेको छु,’ उनले भने, ‘टोल विकास समितिमार्फत निर्णय नै गरेर ब्यानर टाँस्न आएका रहेछन् । मैले निर्णय भएको भए, टाँस्नुस् भनेँ । कमजोर मान्छे यो संक्रमणले आफैँ आतंकित हुन्छ, आत्महत्यासम्म गरेका घटना पनि छन्, तपाईंहरूजस्तै मान्छे भएर यो घटना घटेको होला भनेपछि उनीहरू झस्किए ।’ त्यसपछि उनीहरू ब्यानर नटाँसी फर्किएका थिए । घरमा स्टिकर टाँस्नुपर्ने कुरा वडाध्यक्ष हरिप्रसाद आचार्यले पनि फोनमा उनलाई भनेका थिए । डा. बगाले संक्रमणबाट मुक्त भएका छन् ।

त्यस्तै बकुलहर रत्ननगर अस्पतालका स्वाब संकलन गरेका एक प्राविधिकलाई सामाजिक रूपमा अपहेलित गरिएको थियो । स्थानीय बासिन्दाले घरमा बस्न नदिएपछि उनी ३९ साउनमा होटेलको सहारा लिन पुगेका थिए ।

स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीले चार सयभन्दा बढीको पिसिआर नमुना संकलन गरेका थिए । ‘नागरिकको स्वास्थ्यलाई ख्याल राखेर घरपरिवार नभनी काम गरेँ, आफ्नै घर जान समाजले नदिएपछि सौराहाकै एक होटेलमा क्वारेन्टाइनमा बसेको छु,’ उनले भने । जसका लागि खटिएको थिएँ, उनीहरूले अपमानित गरेको उनको भनाइ छ । ‘जसका लागि खटिरहेको छु, उसैले अपमानित गरेको महसुस भएको छ,’ उनले भने, ‘पिपिई लगाएर नमुना संकलनको गर्दाको पीडा शब्दमा व्यक्त नै गर्न सक्दिनँ । जसको फल अहिले पाएको छु ।’

उनलाई अहिलेसम्म कोरोना देखिएको छैन । उनी होटेलमै बसेर काम गरिरहेका छन् । ‘समाजले मलाई जस्तो व्यवहार गरे पनि कोरोना देखिएन वा देखियो भने पनि निको भएपछि प्रयोगशालाकै काममा खटिनेछु,’ उनले भने । समाजका अगुवाले नै आफूलाई घरमा नल्याउन परिवारलाई दबाब दिएको उनले बताए ।

घरमा आउन नदिएपछि उनी होटेलमा बसेका थिए । होटेलमा पनि समस्या भएपछि नगरपालिकाले सौराहाको थारू कम्युनिटी होमस्टेमा राखेको थियो । त्यहाँका सञ्चालकले पनि प्रयोगशालामा काम गर्ने भन्ने थाहा पाएपछि निकालेको उनी बताउँछन् । ‘अहिले बसेको होटेलको नाम पनि भन्न मिल्दैन, यहाँबाट निकालियो भने कहाँ जाने ?’ उनी भन्छन् ।

त्यसै बकुलहर रत्ननगर अस्पतालको प्रयोगशालामा कार्यरत ज्यामिरे घर भएकी अमृता चौधरीलाई पनि स्थानीयले घर जान दिएनन् । उनी अहिले अस्पतालमा नै बस्दै आएकी छिन् ।

उता संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब १५ लाखबराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । झाका अनुसार ७० पिपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ ।

सोमबार धर्मदेवी नगरपालिका– ४ पिलुवाखोलास्थित क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना देखिएको थियो । उनीहरूलाई उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी गरिएको थियो । तर, नयाँबजारका बासिन्दा र क्याम्पस प्रशासनले विरोध गरेर ल्याउन दिएका थिएनन् । जोखिम बढ्ने भन्दै स्थानीय बासिन्दा र क्याम्पस प्रशासनले आइसोलेसन प्रयोग गर्न नदिने जनाएपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक बसेको थियो ।

बैठकले तत्काललाई क्याम्पसकै आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरेको थियो । तर, बैठकले निर्णय गरेकै राति आइसोलेसन तोडफोड गरेर स्वास्थ्य सामग्री चोरी भएका हुन् । अहिले आइसोलेसनमा तीनजना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए ।

उनका अनुसार तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीनजना कोरोना संक्रमितलाई राखिएको छ । अहिले आइसोलेसनमा धर्मदेवी नगरपालिका– ४ का ३४ वर्षीय युवक, चैनपुर नगरपालिका– ११ का २४ वर्षीय युवक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ वर्षीय जवानको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसअघि गत ३ जेठमा उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका स्वास्थ्यकर्मीको नागढुंगामा हुर्मत लिएका थिए । काठमाडौं आउँदै गरेका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीविरुद्ध स्वयंसेवाका नाममा सडकमा गुन्डागर्दी भएको थियो ।

नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएका थिए, त्यो पनि प्रहरीकै सामुन्ने । चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि कार्की काठमाडौं आउँदै थिए । सहयोगीसहित गाडीमा हिँडेका उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा पुगेपछि प्रहरीले गाडी रोकेको थियो । त्यहीवेला हुल बाँधेर उभिएका युवाले कार्कीमाथि अभद्र व्यवहार गरेका थिए ।

हुलहुज्जतसहित उत्रिएका युवाका गतिविधिसामु कार्की निरीह बनेका थिए । यो सबै उनीहरूले फेसबुकमा लाइभसमेत गरेका थिए । नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, स्वास्थ्यकर्मीको हुर्मत काढ्ने युवाको गतिविधि रोक्न उनीहरूले जरुरी ठानेका थिएनन् ।

पर्सामा पनि त्यस्तै घटना भएको छ । वीरगन्ज– २ छपकैयाकी २० वर्षीया युवतीको २४ साउनमा मृत्यु भयो । परिवारले वीरगन्जका आधा दर्जन अस्पताल डुलाउँदा पनि कसैले भर्ना नलिँदा उपचार नपाएर उनको मृत्यु भएको बताए । त्यसैको आक्रोशमा मृतकका आफन्त र स्थानीयले २५ साउनमा नारायणी अस्पतालमा प्रदर्शन गरे । प्रदर्शनका क्रममा अस्पतालभित्र तोडफोड गरे । डाक्टर उदयनारायण सिंहको निजी कारको सिसा फुटाए ।

उनीहरूले अस्पतालका मेसु र डाक्टरविरुद्ध नाराबाजी पनि गरे । विरोधमा नारायणी अस्पतालका तीन सय ५० स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिए । कोरोनाविरुद्धको लडाइँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, अस्पतालमा तोडफोड गर्नेलाई काबाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो । कोरोना संक्रमितको उपचारमा २४सै घन्टा खट्दै आएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण भएपछि सुरक्षाको माग गर्दै सामूहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताएका थिए । पर्सा कोरोना धेरै प्रभावित जिल्ला हो ।

विराटनगरमा कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । विराटनगर–९ का ४५ वर्षीय पुरुषको २१ साउन दिउँसो निधन भएको थियो । उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर हातपात गरेका थिए ।

२० साउनको राति इमर्जेन्सीमा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसनमा सारेर स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो । आइसोलेसनमा पिपिई लगाएका चिकित्सक र शंकास्पद बिरामीबाहेक अन्यलाई प्रवेश गर्न अनुमति थिएन । तर, मृतकका आफन्तले जबर्जस्ती प्रवेश गरेर डाक्टरमाथि हातपात गरेका थिए । हातपात गरेपछि सामान छाडेर डाक्टर भागेका थिए ।

जाजरकोटको बारेकोट गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत डाक्टर नवीन सहानीमाथि १६ जेठमा आक्रमण भयो । गाउँका तीनजना युवाले आक्रमण गरी सहानीलाई घाइते बनाएका थिए । आक्रमणबाट सहानीको अनुहारमा चोट लागेको थियो । उनको अनुहारमा दुईवटा टाँका लगाइएको थियो । सहानी सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेर दुई वर्षका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा खटिएका थिए । डाक्टर सहानीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय तिलक सिंह, चक्र बुढा र पदम नेपालीलाई पक्राउ गरेको थियो ।