यसरी तुहियो दोश्रो पटक प्रधानमन्त्री बन्ने माधव नेपालको योजना - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

यसरी तुहियो दोश्रो पटक प्रधानमन्त्री बन्ने माधव नेपालको योजना



काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको दोस्रो पटक प्रधानमन्त्री बन्ने प्रयास तत्कालका लागि तुहिएको छ । लामो समय बबण्डर बनेको नेकपा विवाद सल्टाउन प्रधानमन्त्री ओलीले चालेका कदमले उनलाई पछाडी हट्न बाध्य बनाएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै प्रधानमन्त्रीका लागि तयार बनेका वरिष्ठ नेता नेपालको नेकपाको तेस्रो अध्यक्ष बन्ने विषयको समेत च्याप्टर क्लोज भएको छ ।

कोरोना संकटकै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध घेराबन्दी गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने प्रयास असफल भएको छ । शनिबारको पार्टी सचिवालय बैठकले सरकारविरूद्धको सम्पूर्ण गतिबिधि अन्त्य गर्ने र अहिलेसम्म सरकारविरूद्ध गतिबिधि चलाएकाहरूले आत्मआलोचना गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार माधवकुमार नेपाललाइ पार्टीको तेस्रो अध्यक्ष बनाउने भन्ने विषयमा औपचरिक रूपमा आएको थिएन । र आजबाट त्यो विषय पूर्ण रूपमा बन्द भएको छ । नेपाल प्रधानमन्त्री बन्ने र उनको नेतृत्वमा मन्त्री बन्नेहरूको सूची नै बनाएर केही सञ्चार माध्यमले प्रचार समेत गराएका थिए ।

नेता नेपालले प्रधानमन्त्री बन्न खुट्टा उचालेको थाहा पाएपछि प्रधानमन्त्री निकटका नेताहरूले नेपालको निजी निवास निजिकै गएर वार्ता समेत गरेका थिए । नेपालले आफू प्रधानमन्त्री हुने ढुक्क जस्तै भएपछि वार्ता र छलफको कुनै औचित्य नभएको भन्दै प्रधानमन्त्रीले तत्कालै राजिनामा दिनुपर्ने माग बुलन्द गराएका थिए ।

तर कालान्तरमा नेपालले नेकपाको तेस्रो वरियताको अध्यक्ष बन्ने र दोस्रो पटक प्रधानमन्त्री बन्ने प्रयास असफल भएको छ । ओलीलाइ प्रधानमन्त्रीबाट हटाउन लागि नेपाल समूहले एक व्यक्ति एक पद भन्दै नारा जप्दै आएको छ ।

यसैबीच नेकपा उपाध्यक्ष बामदेव गाैतमले प्रधानमन्त्री बन्ने योग्यता पूरा गर्न जनताकै बीचमा गएर चुनाव लड्ने भएका छन । बैठकले गाैतमको प्रधानमन्त्री हुने उत्कट चाहना सम्बाेधन गर्ने गरी उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गाैतमको चाहना सम्बाेधन गर्न उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको जानकारी दिए ।

गाैतमका लागि अाफूले राजिनामा दिने भन्दै यसअघि पूर्वमन्त्री समेत नेकपाका दुइ नेता खगराज अधिकारी र महेश बस्नेतले घोषणा गरिसकेका छन । यद्यपी यसरी घोषणा गर्नेहरू थपिन सक्छन तर बामदेव गाैतमले बर्दियामा शर्मनाक हार व्यहोरेको र धेरैले अर्को चुनावसम्म कुर्न सार्वजनिक रूपमै सुझाव दिइरहेका कारण सहज रूपमा जित्ने क्षेत्रको उम्मेदवारलाइ राजिनामा गराएर उप चुनाव गराइने सम्भवना बढेको छ ।

नेकपा भित्र पाल्पा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य दलबहादुर रानालाइ राजिनामा गराएर उपचुनाव मार्फत गाैतमलाइ त्यहीँबाट निर्वाचित गराइने सम्भवना रहेको छ । २०५१ सालपछि तत्कालीन एमालेले सधैँ कब्जा जमाएको उक्त क्षेत्र सबैभन्दा सुरक्षित मानिएको छ । जहाँ तत्कालीन एमालेले भारी मतान्तरले चुनाव जित्दै अाएको छ ।

यस विषयमा केही छलफल समेत चलेको गाैतम निकट स्रोतले जनाएको छ । त्यस्तै सचिवालय बैठकले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि क्रियाकलामा संलग्न नहुने र सरकारले जनताको पक्षमा काम गर्ने वातावरण बनाउन अघि बढ्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । उनले स्थायी कमिटी बैशाख २५ गते ११ बस्ने निर्णय भएको पनि जानकारी दिए ।