प्रधानमन्त्रीले बैठकमा भने: काठमाडौंमा बेहाल हुनेभयो, यसरी चल्दैन
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका हुन् ।
सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीले पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट देशले अर्को क्षति बेहोर्न सक्ने बताएका यही । उनले लकडाउनमा खेलाँची गरिएको र यसले ठुलो मानवीय क्षति बेहोर्नुपर्ने अवस्था हुने समेत बताए ।
प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए ।
उनले अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।