पूर्ण ‘लकडाउन’ गर्ने सरकारको तयारी: अत्यावश्यक सेवा बाहेक सबै बन्द
काठमाडौं- कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकलाई पूर्ण रूपमा लक डाउन गर्ने तयारी गरेको छ।
कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको बेला यस्तो तयारी गरिएको स्रोतले बताएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई भेटेर यसबारे परामर्श गरेको बताइएको छ ।
यहि तयारी स्वरूप लक् डाउनको परामर्श र निर्णय गर्न उपप्रधानमन्त्री पोखरेलले शुक्रबार साँझ उच्चस्तरीय बैठक बोलाएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन पोखरेललाई निर्देशन दिएका छन् ।
पोखरेलले विभिन्न मन्त्रालय तथा निकायहरुबाट निर्णय कार्यन्वयनको अनुगमन रिपोर्ट समेत लिइरहेका छन् ।
भारतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही समयका लागि सबै सीमानाका बन्द गर्नेबारे छलफल गरिरहेका छन् ।
विमानस्थल र सबै सीमानाका बन्द गरेर बाहृय आवागमन रोक्न सबैतिरबाट सुझाव आएपछि सरकार पूर्ण रुपमा मुलुकलाई लक डाउन गर्ने दिशामा जान लागेको उच्च स्रोतले जनाएको छ ।
सर्वसाधारणको भिडभाड रोक्न अत्यावश्यक सेवा बाहेकका कार्यालय र सार्वजनिक यातायातहरु बन्द गर्नेबारे पनि छलफल भइरहेको छ ।
सर्वसाधारणलाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको बताइएको छ ।