काठमाडौं उपत्यकामा 'कडा लकडाउन' गर्ने सरकारको संकेत - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

काठमाडौं उपत्यकामा ‘कडा लकडाउन’ गर्ने सरकारको संकेत



काठमाडौँ- काठमाडौं उपत्यकामा फेरि पूर्णरूपमा लकडाउन गर्ने सरकारले संकेत देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम निकै बढ्दै गएको र लकडाउन खुकुलो भएकै कारण यस्तो भएको बताएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारेसँगै काठमाडौं उपत्यका उच्च जोखिममा रहेको भन्दै लकडाउन खुकुलो हुँदा झन् जोखिम बढ्ने संकेत गरेका छन् ।

प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, ‘लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ ।’ यो भनाईको सिधा संकेत लकडाउनमै भएको बुझिन्छ ।

सरकारले पछिल्लो समय मुलुकमा लकडाउन खुकुलो पार्ने निर्णय लिएको छ । सार्वजनिक सवारी साधन चलाउन दिने, व्यापार व्यवसाय गर्न दिने र कार्यालय खोल्ने निर्णय लिएपछि राजधानी लगायतका ठूला सहरहरूमा कोरोना संक्रमितको संख्या वृद्धि भएको हो ।

‘गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन्, ‘यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।’

राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीहरूलाई परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन् । सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रूपमा उपचार कार्यमा अहोरात्र खटिरहेका उनको भनाइ छ । ‘वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

पीसीआर परीक्षणमा सरकारले सुरुदेखि नै जोड दिइरहेको प्रधानमन्त्रीको दाबी छ । उनले भनेका छन्, ‘हामीले सुरुदेखि नै संक्रमितहरूको पीसीआर परीक्षणमा जोड दिँदै आएका छौं र यसलाई कूल जनसंख्याको २ प्रतिशत पु्र्‍याउने लक्ष्य राखेका थियौं । हाम्रो यो प्रयास जारी छ र हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरुको पीसीआर परीक्षण गरिएको छ । यो संख्या प्रति १० लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो ।’

लकडाउनको अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरुबाट २३ हजार २ सय ५४ जना नेपाली स्वदेश फर्किएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।