काठमाडौंमा लकडाउन झनै कडा हुने
काठमाडौं- सरकारले काठमाडौं र तराई भेगमा लकडाउन झनै कडाई गर्ने तयारी गरेको बुझिएको छ । लकडाउनकै कारणले कोरोनको जोखिम कम भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको हो ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक महिने लकडाउनको समीक्षा गर्दै स्वरूप परिवर्तन गर्नेगरी प्रस्ताव तयार पार्न लागेको हो ।
एक मन्त्रीका अनुसार काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन मन्त्रीहरूले सुझाव दिएका थिए ।
सरकारले पनि त्यहीअनुसार काठमाडौं उपत्यका र तराईका जिल्लामा झनै कडाइका साथ लकडाउन गर्ने, हिमाली र पहाडी जिल्लामा भने खोल्न सकिने प्रस्ताव तयार पारेको बताइएको छ ।
काठमाडौं उपत्यका, जनघनत्व भएका क्षेत्रमा लकडाउन खुकुलो तुल्याउँदा प्रत्युत्पादक सक्ने आंकलन समितिले गरेको छ । त्यस्तै समितिले परीक्षणको दायरा अझै बढाउनु पर्ने निष्कर्ष निकालेको छ ।