अब सबैभन्दा जोखिम काठमाडौंमा - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

अब सबैभन्दा जोखिम काठमाडौंमा



काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) विरुद्ध बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लोपटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ।

यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन। तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन्। कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स मार्फत उपत्यका भित्रिन थालेका हुन् ।

लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ। यद्यपि काठमाडौँ उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ।

काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ। काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यले पछिल्लो दुई सातामा उपत्यका बाहिर गएका मानिस उपत्यका भित्रिन थालेकाले रोक्न गाह्रो भएको बताए। यो खबर आजको गोरखापत्रमा नगेन्द्र सापकोटाले लेखेका छन्।

उनका अनुसार सीएमसी काठमाडौँले एक साताको बीचमा भीमढुङ्गा, दक्षिणकाली, साँखु लगायतका उपत्यका प्रवेश गर्ने मुख्य नाकामा अनुगमन गर्दा लुकिछिपी उपत्यकामा आउने क्रम नरोकिएको पाइएको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिरामी भएको बहानामा एम्बुलेन्सबाट उपत्यका भित्रिन खोज्ने कतिपय व्यक्तिलाई भक्तपुरको प्रवेश गर्ने नाका साँगा र जगातीबाट फिर्ता पठाइएको बताए।