काठमाडौंका घरबेटीहरूलाई अनेक समस्या - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

काठमाडौंका घरबेटीहरूलाई अनेक समस्या



काठमाडौं । कोरोना महामारीका कारण डेरावाल मात्र नभएर घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले ६ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या भएको बताइन् । उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत व्यक्ति बस्छन् ।

‘लकडाउनअघि भाडा दिन्छौं भन्थे, त्यसपछि कोठामा बस्ने गाउँ गए । अहिले न भाडा दिन्छन् न त कोठा नै खाली गर्छन्,’ काफ्लेले सुनाइन् ।

बागबजारमा महिनाको दुई लाख भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । कन्सल्टेन्सी सञ्चालक प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल ‘अफ’ गरेर बसेको थापा बताउँछन् । ‘कार्यालयमा आवश्यक सामान ४–५ लाखको होला, भाडा भने १० लाख पुग्न लागेको छ,’ थापाले भने ।

त्यस्तै, विशालनगरमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्न दिएका केशरमान श्रेष्ठको कथा पनि उस्तै छ । केही दिनअघि सर्लाहीका फिरमान आलमलाई ग्यारेज सञ्चालन गर्न दिएका श्रेष्ठलाई भाडा नै नतिरी आलम मध्यरात सामानसहित फरार भए । लकडाउनपछि गाउँमा घर हुने त्यतै गए । काठमाडौंमा व्यापार गर्नेले घरभाडा तिर्न सकेका छैनन् ।

घरबेटीले कोठामा बस्नेलाई अपमान र मनलाग्दी भाडा तिर्न बाध्य भएकाको पीडा अर्कै छ । कालोपुलमा कोठा भाडामा बस्ने महेश गुरुङले यसबारे भिन्न विचार राखे । सानो समस्या हुनेबित्तिकै ‘कोठाबाट निस्की हाल’ भन्ने घरबेटीलाई ‘कोरोनाले सबक’ सिकाएको महेश बताउँछन् ।

‘यस्तै अवस्था रहे भाडामा बस्नेले भाडा नदिने र भएको कोठा खाली हुँदा बहाल घट्ने उनको आँकलन छ ।

कोठामा बस्नेलाई पानी, बत्ती र फोहोरको शुल्क असुल्नेलाई त ठीकै भएको छ । तर, बैंकमा घर राखेका र कोठाबाटै जीविका चलाउनेलाई भने समस्या परेको भवनाथ प्याकुरेलले राजधानीमा लेखेका छन् ।

कानुन पालना नगर्दा घरबेटी समस्यामा

घरबेटीले घरबहाल कर र कोठामा बस्नेसँग सम्झौता नगरेकाले भाडा नपाउँदा पनि उजुरीका लागि कानुनी बाटो नखोजेको पाइएको छ । काठमाडौं महानगरपालिकखका सूचना अधिकारी वसन्त आचार्यले अनौपचारिक रूपमा भाडा नतिरेको विषय आए पनि औपचारिक रूपमा उजुरी नआएको बताए ।

‘मसँग सम्पर्क गर्न आएकालाई तपाईंहरुलाई परेको समस्या वडामा सम्पर्क गर्नू र त्यहाँबाट समाधान नभए नगरपालिकामा आउनू भन्ने गरेको छु,’ सूचना अधिकारी आचार्यले भने । उनले अधिकांश घरबेटीले घरबहाल कर नतिरेका र डेरावालसँग बस्ने बेलामा सम्झौता नगरेकाले उजुरी गर्न आउनेको संख्या कम रहेको जानकारी दिए ।

महानगरले अनिवार्य रूपमा भाडामा बस्नेले लिखित सम्झौता गरी त्यसको छायाप्रति वडामा दर्ता गराउन भनेको छ । तर, त्यसो गर्दा घरबहाल कर तिर्नुपर्ने भन्दै अधिकांशले मौखिक सहमतिमा भाडा लगाउँदै आएकाले समस्या भएको आचार्यको बुझाइ छ ।

भाडा नतिरे के गर्ने ?

प्रवक्ता आचार्यले घरबेटी स्वयंले १५ दिने लिखित सूचना डेरावाललाई दिनुपर्ने र त्यसको प्रतिलिपि वडा कार्यालयमा दर्ता गराउनुपर्ने बताएका छन् । त्यसपछि घरबेटीले घर खाली गराउन वडामा पुनः १५ दिनपछि निवेदन दिनुपर्छ ।

वडाले घर खाली गर्ने १५ दिनको सूचना निकालेर हटाउने प्रयास गर्छ । त्यसपछि पनि नहटे वडाले लिखित रूपमा महानगरमा भएको न्यायिक समितिमा पठाउँछ र न्यायिक समितिले भनेको पनि मानिएन भने न्यायिक समितिले जिल्ला अदालतमा वा पुनरावेदन अदालतमा मुद्दा पठाइदिन्छ ।