कपिलवस्तुमा ५ जना सरकारी कर्मचारी कोरोना संक्रमित
बुटवल । समुदायमै संक्रमण फैलिएको आशंका गरिरहेका बेला कपिलवस्तुमा सरकारी कर्मचारी नै संक्रमित बनेका छन् । कपिलवस्तुका ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।
यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
यसैगरी कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एकजना महिला र एकजना पुरुष छन् ।