उच्च जोखिममा कपिलवस्तु: समुदायस्तरमै फैलियो कोरोना
काठमाडौँ- कपिलवस्तुमा एकैदिन १० जना संक्रमित थपिएपछि समुदायमा त्रासको वातावरण बनेको छ । यो भन्दा अगाडी भारतबाट आएका ५ जनामा संक्रमण पुष्टि भएको थियो भने यसपटक समुदायस्तरमै फैलिएको बताइएको छ ।
भारतसंगको खुल्ला सीमाना भएकाले पहिले देखिनै उच्च जोखिममा रहेको कपिलवस्तुमा पहिले भेटिएकाहरू कन्ट्याक ट्रेसिंग पनि राम्रोसंग नभएको बताइएको छ।
कपिलवस्तु जिल्लामा लकडाउनको पूर्ण पालना नभएको, प्रशासनले कडाई नगरेको पहिलेदेखि नै गुनासो आउने गरेको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको हो ।
सोमबार संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।