किटको चरम अभाव: कोरोना परिक्षण रोकिने अवस्थामा - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

किटको चरम अभाव: कोरोना परिक्षण रोकिने अवस्थामा



बुटवल–रुपन्देहीमा किटको चरम अभाव भएपछि कोरोना परिक्षण रोकिने अवस्थामा पुगेको छ ।

रुपन्देहीको गहुँबाली अनुसन्धान केन्द्रमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभाव हुँदा कोरोना परिक्षण प्रभावित हुन थालेको बताइएको हो ।

गत चैत २३ गते नमूना परिक्षण सफल भएपछि स्वाव परिक्षण शुरु गरिएको प्रयोगशालामा एक महिना नहुंदै किट अभाव हुन थालेको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा। राजेन्द्रकुमार गिरीले प्रयोगशालामा किट अभाव भएपछि अहिले परिक्षणका लागि आएका स्वाव काठमाडौं पठाउन थालिएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले आरडीटी र पीसीआर विधिबाट परीक्षण हुंदै आएको छ ।

थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि आवश्यक पर्ने कीट अभावले परीक्षण प्रभावित भएको हो । ३ दिनदेखि परिक्षण प्रभावित भएको र आजलाई मात्र किट प्रयोगशालामा भएको उनले बताए । आवश्यक किट पठाउनका लागि केन्द्रमा कुराकानी भइरहेको उनको भनाइ छ ।

हरेक प्रदेशमा एक एक वटा प्रदेशस्तरीय कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने संघीय सरकारको निर्णय र सहयोगमा प्रदेश ५ को लागि भैरहवामा प्रयोगशाला स्थापना गरिएको थियो ।
सुरुवाती समयमा आवश्यक जनशक्ति नहुंदा प्रयोगशालामा परिक्षण ढिलाई भएकोमा अहिले महिना दिन नहुंदै किट अभाव भएपछि प्रयोगशाला बन्द हुने अवस्थामा पुगेको छ ।

त्यस्तै रुपन्देहीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको छ । वैशाख ५ गते भारतको नयांदिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका रुपन्देही कोटहीमाई १ का २५ वर्षीय युवामा कोरोना पोजेटिभ आएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको हो।