कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि खुशी हुँदै क्वारेन्टाइनबाट फिर्ता - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि खुशी हुँदै क्वारेन्टाइनबाट फिर्ता



विशाल पाण्डेय/कैलाली

स्वास्थ्यकर्मीको निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि कैलालीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट खुशीसाथ घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको क्वारेन्टाइनबाट आज १३ जनालाई घर फर्काइएको हो भने आइतबार गौरीगंगा नगरपालिका वडा नं ८ जनप्रिय माध्यमिक विद्यालय लिक्मा क्वारेन्टाइनमा बसेका २० जनालाई घर पठाईएको थियो ।

त्यस्तै बर्दगोरिया गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १५ जनाको पनि र्‍यापिड टेष्टमा कोराना परिक्षण गर्दा नेगेटिभ अाएपछि आइतबार नै घर पढाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

१४ दिन देखि क्वारेन्टाइनमा स्वास्थ्य कर्मिको निगरानीमा बसेकाहरुको र्‍यापिड टेष्टमा कोराना परिक्षण गर्दा सबैमा नेगेटिभ अाएपछि एक हप्ता घरमा समेत एकान्त बाँस बस्ने सर्तमा घर पठाएको घोडाघोडी नगरपालिकाका स्वास्थ शाखा प्रमुख कैलाश कुमार रावतले हिमाल पोस्टलाई जानकारी दिए ।

विश्वमा त्रास फैलिएको कोराना भाईरस विरुद्धको लडाइँमा सबैले सचेत र सजगता अपनाउनु पर्ने अाबश्यकता रहेको र थप एकसाता होम क्वारेन्टाइनमा बस्नको लागि आग्रह गरि क्वारेन्टाइनमा रहेका लाई घर पठाइएको गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवाले बताए ।

उनले स्वाब परिक्षण तथा र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपछि उनिहरुलाई घर पढाइएको बताए । काठमाडौंबाट आएको टोलिले स्वाब परिक्षण गरेका थिए ।

घोडाघोडी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट ४ जना महिला र ९ जना पुरुष गरि १३ जनालाई १४ दिनको स्वास्थ्य निगरानीपछि तत्काल घरमै सुरक्षित बस्न निर्देशन दिई घरमा पुर्‍याइएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए ।

उनले उक्त वडाका वडा अध्यक्ष तथा स्वयंसेविकाहरुको निगरानिमा थप एक साता घरमा सेल्फ क्वारेन्टाइनमा राखिने बताए ।

कोरोनाको लक्षण नभेटिएको र परिवारका सदस्यहरूसँग लामो समयपछि भेंट हुने दोहोरो खुशी लिएर घर फर्किन पाएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले खुशी व्यक्त गरेका छन् ।

उनिहरुले आफुहरु स्वयं सतर्क बनेर एक साता थप घरमा अलग्गै बस्ने प्रतिबद्धता समेत जनाएका छन् । गौरी गंगा नगरपालिका -२ मालिका माविको क्वारेन्टाइनमा १० जना रहेको र उनिहरुको पनि केही दिनपछि स्वास्थ परिक्षण गरिने गौरी गंगा नगरपालिकाले जनाएको छ ।