खरिपाटी क्वारेन्टाइन पुगे स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं- चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्वारेन्टाइनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार अवलोकन गरेका छन्।
स्वास्थ्यमन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाका अनुसार, क्वारेन्टाइनमा राखिएका विद्यार्थीको स्वास्थ्यस्थिति र उनीहरूको अवस्थाबारे बुझ्न मन्त्री ढकाल खरिपाटी क्वारेन्टाइन पुगेका हुन्।
मन्त्रीसहित प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे पनि खरिपाटी क्वारेन्टाइन गएकी थिइन्। उनीहरूले त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइ गर्ने कर्मचारीको काम स्थिति अवलोकन गरेका थिए।
‘मन्त्री ढकालले कन्ट्रोल रुमबाट क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै सरकार आफ्ना नागरिकप्रति सदैव सचेत र जिम्मेवार रहेको बताएका थिए’ स्वकीय सचिव खतिवडाले भने।
क्वारेन्टाइनमा केही समस्या भए तुरुन्त व्यवस्थापनको जिम्मा सम्हालेका व्यक्तिलाई जानकारी गराउन मन्त्रीले विद्यार्थीहरूलाई आग्रह गरेका थिए।