के काँग्रेस र काँग्रेसीले किसुनजीलाई साँच्चै भुलेकै हुन त? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

के काँग्रेस र काँग्रेसीले किसुनजीलाई साँच्चै भुलेकै हुन त?



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपाली काँग्रेसको राजनीति कालखण्डमा सन्त र निष्ठाको राजनीति गर्ने नेताका नामबाट परिचित स्वर्गीय कृष्ण प्रसाद भट्टराईको सातौँ स्मृति दिवसमा उहाँलाई स्मरण गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।उहाँका विषयमा केही लेख्ने जमर्को गरेको छु लेखाइको क्रममा केही त्रुटि कमी कम्जोरी हुन गएमा कृपया मलाई माफ गरी दिनु होला।मलाई पनि उहाँको बारेमा पूर्ण ज्ञान नहुन सक्छ तर मैले जति बुझे जति पढे जति देखे ती कुराहरू प्रस्तुत गर्न खोजेको मात्र हुँ।कृष्णप्रसाद भट्टराईको जन्म वि.सं.१९८१ सालमा पिता स्वर्गीय संकटाप्रसाद भट्टराई र माता स्वर्गीय ललितादेवी भट्टराईको कोखबाट जन्म लिनु भएको थियो।उहाँका हजुर बुबा र पीताजी राणा शाशकहरूको दमन पश्चात् भारत लखेटिएका थिए।बनारसमा जन्मिएका भट्टराईको शिक्षा दीक्षा भारतमा नै भएको थियो।पारिवारिक माहौल राजनीतिक भएकै कारण यिनी बाल्यकाल देखि नै शोषक सामन्ति र राणा शासक प्रति नकारात्मक कुराहरू सृजित गर्ने भई सकेको थिए।

विक्रम संबत २००० मा बनारस हिन्दु युनिभर्सिटी स्थित नेपाल छात्र सङ्घको उपाध्यक्षमा रहेर नेपाली विद्यार्थीहरू बिच राजनैतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहेका थिए।यसरी सक्रिय रहँदै गर्दा नेपालको जहानीया राणा शासन हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा पनि छलफल हुन थालेको थियो।बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै सङ्गठनमा लागेका थिए।नेपालको १०४ वर्षीय लामो निरङ्कुश राणा शासन समाप्त पारी संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ सालमा भारतको बनारसमा नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भएको थियो।विक्रम संबत २००६ सालको चैत्रमा नेपाली राष्ट्रिय काँग्रेस र प्रजातन्त्र काँग्रेस बिच एकता भए पछि भट्टराई सहमहामन्त्री बनेका थिए।भट्टराईले २००७ सालको क्रान्तिमा जनकपुर देखि उदयपुर सम्मको मोर्चाको लिडिङ गरेका थिए।२००७ सालमा राणा शासनको अन्त्य भए सँगै २००८ सालमा गठन भएको सल्लाहकार सभाको अध्यक्ष भएका थिए भने २०१६ सालमा प्रतिनिधि सभाको सभामुख पनि बनेका थिए।

विक्रम संबत २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि कु गर्ने बेलामा अर्थात् विक्रम संबत २०१७ साल पुस १ गते का दिन थापाथलीमा हुँदै गरेको तरुण दलको सभाबाटै भट्टराईलाई पक्राउ गरी १० वर्ष जेल हाले।भट्टराईले जीवनमा पटक पटक गरेर १४ वर्ष जेल जीवन बिताए।जीवनमा बीपी कोइराला,सुवर्ण सम्शेर,गणेशमान र गिरीजाबाबु सँग सहकार्य गरेका यिनी २०३४ सालमा बिपी कोइराला बिरामी भए पछि कार्य बाहक सभापतिको जिम्मेवारी यिनको हातमा नै आयो उक्त कार्यवाहक सभापतिको जिम्मेवारी २०३९ सालमा बीपी स्वर्गीय भए पश्चात् पनि २०४८ साल सम्म पनि कार्य बाहक नै रही काम गरी रहे।२०३६ सालको जनमत सङ्ग्रह,२०४२ सालको सत्याग्रह र २०४६ सालको आन्दोलनमा यिनी नै काँग्रेसको तर्फबाट कार्यवाहक सभापति थिए।२०४८ सालमा भएको पार्टीको महाधिवेशनबाट भने भट्टराई सभापति बन्न सफल भए।भट्टराईले २०४८ देखि २०५३ साल सम्म सभापतिको पद सम्हालेका थिए।

२०४६ सालमा पंञ्चायति व्यवस्थाको अन्त्ये सँगै बहुदल आए पश्चात् अन्तरिम प्रधानमन्त्री भट्टराई नै बनेका थिए।उहाँकै कार्यकालमा नेपाल २०४७ को संविधान पाएको थियो भने २०४८ सालको प्रतिनिधि सभाको चुनाव पनि उहाँले नै सफलताका साथ गराउनु भएको थियो तर दुर्भाग्य भट्टराईले २०४८ र ५१ सालको चुनावमा विजय हासिल गर्न सकेनन्।२०५० साल जेठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारीको दासढुँगामा जिप दुर्घटनामा मृत्यु भए पछि उहाँको नामबाट नै उहाँकी जीवन सङ्गिनी बिद्यादेवी भण्डारीले भट्टराई सँग २०५१ मा चुनाव लड्दा भट्टराईले हार ब्यहोरेका थिए।कारण केशव स्थापित जस्ता व्यक्तिहरूले आफैले विद्याको सेतो सारीमा रङ्ग छर्किएर काँग्रेसले छर्कियो भन्दै जनता बिच सहानुभूतिको मत बटुल्न सफल भएका थिए।

भट्टराई २०५५ सालमा नेपालको पुन दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको थियो।सरल र निष्टाको राजनीति गर्ने भट्टराई कहिले पनि विवादमा तानिएनन्।सधैँ पार्टीको हितका लागि अहोरात्र खटिने भट्टराई २०५८ सालमा देउवाले पार्टी फुटाए पश्चात् मौन नै रहे।देशमा २०६२/६३ सालको विशाल लोकतान्त्रिक आन्दोलन भए पनि भट्टराई मौन नै बसे।आफू प्रधानमन्त्री भएर बालुवाटार बाट बाहिरीदा छाता,कमण्डलु र बाक्सा लिएर लुरूलुरू निस्किएका भट्टराईको नेपालको राजनीतिमा खुबै चर्चा परीचर्चा चली रह्यो।हामीले काँग्रेसका एक होनाहार निष्टाको राजनीति गर्ने सन्त नेताले २०६७ साल फागुन २० गते शुक्रवारका दिन रातको ११:२६ मिनेटमा थापाथली स्थित नर्भिक हस्पिटलमा उपचारका क्रममा देह त्याग गर्नु भयो।भट्टराई स्वर्गीय हुनु भएको पनि ७ वर्ष पुरा भई ८ वर्ष लाग्दै छ।जति जति वर्ष बित्दै गयो त्यति त्यति नै काँग्रेसले भुल्दै जाने निश्चित देखिन्छ।हामीले हाम्रा आउँने नयाँ पुस्ताहरूलाई चिनाउनका लागि भने पनि काँग्रेसका ती अग्रहरू महामानव बीपी कोइराला,सुवर्ण शम्शेर,गणेशमान,किशुन जी,गिरिजा बाबु,सुशील कोइराला लगायत अन्य स्वर्गीय हुनु भएका हस्तीहरूको बारेमा चर्चा परीचर्चा गर्दै उहाँहरूको जन्म दिवस स्मृति दिवस मनाउनु पर्दछ।
जय नेपाल।

लेखक नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री हुन।