काभ्रेमा अनिश्चितकालका लागि कर्फ्यु आदेश
काठमाडौँ – काभ्रेको पनौतीमा अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेपलाञ्चोकको पनौतीमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।
बिहान ९ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा प्रदर्शनमा उत्रेका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको थियो ।
सोमबार राति भएको उक्त झडपमा प्रहरी र स्थानीय बासिन्दा घाइते भएका छन् । स्थिति सामान्य बननिसकेकोले अनिश्चितकालका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
सोमबार बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो । घटनापछि स्थानीय बािसन्दाले प्रहरी बिटमा आगो लगाएका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो ।
अहिले जिल्ला प्रशासनमा सर्वपक्षीय बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।