कर फिर्ता नलिए संसद चल्न नदिने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कर फिर्ता नलिए संसद चल्न नदिने



काठमाडौँ । समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिएका थिए ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गिरीले मन्त्रिपरिषदको निर्णयअनुसार पूर्वाधार विकास करमा गरिएको बृद्धि संसदकै अधिकारमाथि हस्तक्षेप भएको बताइन् ।

उनले कुनै पनि कर लगाउने अधिकार मन्त्रिपरिषदलाई नभएको दावी पार्दै संसदले मात्र त्यस्तो निर्णय गर्न पाउने तर्क गरिन् । विश्वव्यापी सिद्धान्त र अभ्यासको विपरीत सरकारले चोर बाटोबाट कर वृद्धि गरेको उनको आरोप थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार करमा गरिएको वृद्धिले जनतालाई भार नपर्ने दावी गरेकोमा पनि उनले आश्चर्य प्रकट गरिन् ।

अर्थमन्त्रीले आयल निगमको मुनाफाबाट उक्त कर पूर्ति हुने दावी गरे पनि निगमले जनतासँग नै असुलेर नाफा आर्जन गर्ने भन्दै सांसद गिरीले भनिन्, ‘जनतालाई यसरी भ्रममा पार्नु भएन ।’

७ महिनामा सरकारले लक्ष्यको ४६ प्रतिशतमात्र राजश्व संकलन गर्न सकेको भन्दै उनले राजश्व संकलनमा भएको असफलता लुकाउनका लागि नयाँ कर थोपरिएको आरोप लगाइन् ।
उनले पूर्वाधार कर फिर्ता लिनैपर्नेमा जोड दिइन् ।