संक्रमित युवासँग रहेका ९९९ जना कहाँ छन् ?
धनगढी- कैलालीका लम्कीचुहा नगरपालिकामा भेटिएका आठौं कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए ।
१२ चैतमा नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै धनगढीको सीमावर्ती क्षेत्र गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीसँगै गौरीफन्टामा नाकामा रहेका नौ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए ।
त्यसपछि मन्त्रिपरिषद् बैठकको निर्णयपश्चात् सीमामा रोकिएका नौ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत सम्बन्धितको गन्तव्य पठाएको थियो ।
ती नौ सय ९९ जनामध्ये २२ जना कैलालीका पनि रहेका थिए । सम्बन्धित स्थानीय तहले उनीहरुका लागि क्वारेन्टाइन व्यवस्थापन गरी १४ दिन अनिवार्य राख्नुपर्ने निर्देशन आएको भएपनि ती २२ जना क्वारेन्टाइनमा नबसी घरमै रहेको पाइएको छ ।
कोरोनाको संक्रमण फैलिएपछि भारतमा रोजगारी गरिरहेका सुदूरपश्चिम प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशलगायतका गरी सुदूरपश्चिमका विभिन्न नाकाबाट डेढ लाख जना भित्रिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए ।
सामाजिक मन्त्रालयका अनुसार प्रदेशका नौ वटै जिल्लामा एक हजार ७ सय ७ जनालाई मात्र अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।
उनले सो तथ्यांक सीमा क्षेत्रमा आधिकारिक रुपमा संकलन गरिएको भएपनि त्यस अलावा लुकीछिपी कति आए भन्न सकिने अवस्था रहेको बताए ।
यो प्रदेशमा स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले समेत गरी तीन हजार नौ सय ७३ शैया बराबरका क्वारेन्टाइन स्थापना गरेको छ ।
तर भारतबाट फर्किएका तर क्वारेन्टाइन नबसेका डेढ लाखको अवस्थाबारे सबै सम्बद्ध निकाय बेखबर छन् । दिपक ओलीले राजधानीमा लेखेका छन् ।